उपप्राध्यापक चलाउनेको रिट न्यायाधीश शर्माको इजलासमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उपप्राध्यापक चलाउनेको रिट न्यायाधीश शर्माको इजलासमा


७ असार २०८०, बिहिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूविरुद्ध आक्रमण गर्ने व्यक्तिउपरको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध दिएको रिटमाथि सर्वोच्च अदालतमा आज (बिहीबार) सुनुवाइ हुँदैछ ।

उक्त रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासमा हुने भएको छ ।

आफूमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय बदरको माग गर्दै उनले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उनले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत माग गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० मा त्रिवि परिसर कीर्तिपुरमा आक्रमण गरेको आरोप लागेका नेविसंघका हरि आचार्य, योगेन्द्र रावलसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा थियो ।

तर, उक्त मुद्दा सरकारले फिर्ता लिएको छ । जसविरुद्ध चलाउने अनशन बस्ने भन्दै गत सोमबार जिल्ला अदालत पुगेका थिए । सो क्रममा उनीसहितलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस