काठमाडौँ । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल आजदेखि भारतको बैङ्लुरुमा शुरु हुँदैछ।
भारतको बैङ्लुरुस्थित श्री कान्तिराभा रङ्गशालामा बुधबार साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले कुवेतसँग खेल्दैछ। यो खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे शुरु हुनेछ।
साफका ६ र २ आमन्त्रित राष्ट्र गरी ८ टोली सहभागी छन्। साफ च्याम्पियनसिपको पहिलो संस्करणदेखि नै खेल्दै आएको नेपालको अहिलेसम्मको सफलता भनेको एक पटक उपविजेता बन्नु मात्र हो। गत संस्करण माल्दिभ्समा भारतसँग ३-० गोलले हारेको नेपाल साबिक उपविजेता हो।
मध्यपूर्वी राष्ट्र कुवेत वरियताका आधारमा नेपालभन्दा बलियो टोली हो। फिफाको वरियतामा नेपाल १७४ औं स्थानमा छ भने कुवेत ३१ स्थान माथि १४३ औं स्थानमा छ। १० पटक अरेवियन गल्फ कप जितेको कुवेतले १ पटक विश्वकप र १० पटक एसियन कप समेत खेलिसकेको छ।
नेपाल र कुवेतबीच अहिलेसम्म ९ खेल हुँदा नेपालले १ मात्र बराबरी गरेको छ भने बाँकी ८ खेल कुवेतले जितेको छ। २०१९ मा भएको मैत्रीपूर्ण खेलमा उसलाई गोलरहित बराबरीमा रोकेको नेपाल पछिल्लो पटक कुवेतसँग गत वर्ष एसिया कप छनोटको खेलमा भने ४–१ गोलले हारेको थियो।