कमाउने मानिस नहुँदा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमले दिएको खुसी « प्रशासन
Logo २३ आश्विन २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कमाउने मानिस नहुँदा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमले दिएको खुसी


५ असार २०८०, मंगलबार


कैलाली । कैलालीको घोडाघोडी नगरपालिका १० का राजेन्द्र र कलावती सुनारको जीवन सहज रूपमा अघि बढिरहेको थियो । श्रीमान् राजेन्द्र भारतमा प्राविधिक काम गरेर परिवार चलाउँदै आएका थिए । पछिल्लो ७ वर्षयता भने राजेन्द्र काम गर्न नसक्ने भएर थला परे । घरमा बस्नुपर्ने अवस्था आयो । श्रीमान्ले काम गरेर परिवारको खर्च धानिरहेका बेला उनी नै बिरामी भएर काम गर्न नसक्ने अवस्थामै पुगेपछि कलावतीको जीवनमा दुःख आइलाग्यो । घरमा अपाङ्ग श्रीमान्लाई छोडेर काम गर्न बाहिर जान सक्ने स्थिति पनि रहेन । कसरी दैनिक छाक टार्ने, स्कुलमा बच्चालाई पढाउने र श्रीमानको औषधि उपचारको खर्चको जोहो कसरी गर्ने भन्ने पिरले उनलाई सताउने गरेको थियो । 

ऋण गरेर, सरसापट गरेर दैनिक जीविकोपार्जन गरिरहँदा गाउँमै आएको प्रधानमन्त्री रोजगारी कार्यक्रमले भने उनलाई केही राहत दिएको छ । घरमा कमाउने कोही नभएको अवस्थामा कठिन समस्या झेलिरहेको उनको परिवारका लागि यो कार्यक्रम वरदान नै साबित भइदिएको छ । त्यसैले होला कलावतीले यो कार्यक्रममा तीन पटक काम गर्ने अवसर प्राप्त गरिसकेकी छन् । जसबाट उनलाई ठूलो राहत मिलेको छ । आफूले घर खर्च चलाउन नसकिरहेका बेला गाउँमै आएको कार्यक्रमले निकै राहत भएको उनी बताउँछिन् । “मलाई त यो कार्यक्रम निकै राम्रो लागेको छ । तीन पटक काम गरे । कमाउने श्रीमान् अपाङ्ग भएर घरमै बसिरहेका बेला आएको यो कार्यक्रमले राहत मिलेको छ,”उनले भनिन्“बच्चालाई पढाउन, राशन किन्न र श्रीमानको उपचार खर्चमा पनि सहयोग मिलेको छ ।”

भारतमा मजदुरी गरेर राम्रै कमाइ गर्थे राजेन्द्रले तर, उनको मेरुदण्डमा समस्या आएपछि काम गर्न नसक्ने अवस्थामा पुगेका हुन् । अपरेसन गरे पनि उनमा देखिएको समस्या कम भएन । जसका कारणले उनी ५ वर्षदेखि घरमा नै बसेका छन् । उनको घरमा कमाउने अरु कोही छैन । यस्तो अवस्थामा यो कार्यक्रम मार्फत काम गरेर पैसा पाउँदा निकै सजिलो भएको कलावती बताउँछिन् । “घर खर्च, कापी किताब, औषधि किन्नका लागि निकै सहज भएको छ । बाहिर हामीलाई कसैले काम दिँदैन। यो कार्यक्रमले राम्रो भएको छ । गाउँमा काम गर्दा महिला र पुरुषलाई पैसामा विभेद थियो । यो कार्यक्रममा छैन”उनले भनिन्, “परदेश गएर काम गर्दा परिवार छोडेर जानुपर्ने अवस्था थियो तर, यो त घरमै बसेर काम गर्न पाइएको छ। गाउँमा ऋण मागेर घर खर्च चलाउनुपर्ने अवस्था थियो ।”

उनले यो कार्यक्रम आफू जस्तै मानिसहरूका लागि नै राम्रो भएको बताइन् । “यो सय दिन भन्दा अझै बढी दिन भएर ज्याला मजदुरी पनि बढाइदिएको भए राम्रो हुने थियो । सय दिन मात्रै काम गरेर वर्षभरि नै खान लाउन र अरु खर्चको जोहो गर्न समस्या हुन्छ,”उनले भनिन्, “सरकारले हामी जस्ता मानिसको समस्या हेरेर सहयोग गरिदिएको भए राम्रो हुने थियो ।”

कलावतीका श्रीमान् राजेन्द्र पनि आफू काम गर्न नसकेर घरमै बस्नुपर्ने अवस्थामा परिवारले काम गर्न पाउँदा घरपरिवार चलाउन निकै सजिलो भएको बताउँछन् । “म काम गर्न नसक्ने भएर घरमै बसिरहनु परेका बेला श्रीमतीले यो कार्यक्रममा काम गर्न पाएपछि त्यसले सजिलो भएको छ । औषधि किन्नेदेखि सबै खर्च अहिले उनले नै व्यवस्थापन गरिरहेकी छन्,”राजेन्द्रले भने ।

कलावतीलाई मात्रै होइन, घोडाघोडी नगरपालिका २ साडेपानीकै पदमा भन्डाराका लागि पनि यो कार्यक्रम वरदान जस्तै भइदिएको छ । उनको पनि श्रीमान्ले नै ज्याला मजदुरी गरेर परिवारको खर्च धान्दै आएका थिए । तर, पछिल्लो केही वर्षयता देखि उनका पनि श्रीमान् बिरामी छन् । उनी पनि पहिले जसरी ज्याला मजदुरी गरेर खर्च जुटाउन नसक्ने अवस्थामा छन् । श्रीमान्ले काम गर्न नसक्ने अवस्थामा कसरी घरपरिवार चलाउने भन्ने पिरलोले पदमालाई पनि निकै सताइरहेको थियो । यही बेला उनी पनि यो कार्यक्रममा जोडिएपछि घर खर्च चलाउनका लागि निकै राहत मिलेको छ । उनलाई पनि छोराछोरीलाई पढाउन र घर खर्च चलाउनका लागि धेरै नै सजिलो भएको छ । 

“श्रीमान्ले नै मजदुरी गरेर परिवारको खर्च धान्दै आउनुभएको थियो । तर, उहाँ बिरामी भएपछि घर खर्च चलाउन नै कठिन थियो । त्यही बेला यो कार्यक्रममा काम गर्न पाउँदा मलाई धेरै नै सजिलो भयो,”उनले भनिन्,“यसबाट स्कुलमा बच्चा पढाउन, औषधि उपचार गर्नेदेखि साँझ बिहान छाक टार्नका लागि पनि मलाई राहत मिलेको छ ।” अप्ठ्यारो अवस्थामा घर चलाउन भएको यो कार्यक्रमले निरन्तरता पाउनुपर्ने उनी बताउँछिन् । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी भएर काम गर्ने महिला पुरुष दुवैले समान ज्याला पाउँदा उनलाई खुसी लागेको छ । “गाउँमा पुरुषले काम गरेको धेरै पैसा पाउने र हामीले कम पाउने गरेका थियौँ। यो कार्यक्रममा त बराबर पैसा दिने गरेको छ । यो धेरै राम्रो लागेको छ। काम अझै बढाइदिएको भए हुन्थ्यो ।”

साडेपानी कै कृष्णा विष्टलाई पनि काम नपाइने हो की भन्ने चिन्ता केही कम भएको छ । गाउँमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भइसकेपछि त्यसमा सहभागी भएर काम गर्न पाउँदा उनलाई खुसी लागेको छ । सय दिनकै काम भए पनि उनलाई यसबाट भएको कमाइले खर्च जुटाउन सजिलो भएको छ । “घर नजिकै काम गर्न पाइयो पैसा पनि पाइयो। त्यसबाट आएको पैसाले बच्चाको स्कुल फिस तिर्न र अरु खर्च चलाउन सजिलो भएको छ,” उनले भनिन्,“बुढा पनि बिरामी हुनुहुन्छ । उहाँको उपचार गर्न पनि त्यहाँबाट आएको पैसाले सजिलो बनाएको छ ।” यसअघि गरेको कामबाट आएको पैसा घर खर्च, स्कुलमा फिस तिर्न र उपचारमा खर्च भए पनि अब आउने पैसाबाट भने उनी बाख्रा किनेर सानो व्यवसाय सुरु गर्ने सोचमा रहेकी छन् ।

वडा नम्बर १० का युवा नेपालीको पनि आफ्नै जमिन छैन । जसका कारणले उनको जीविकोपार्जन दैनिक मजदुरी गरेरै हुने गरेको छ। गाउँमा काम नपाउने समस्या उस्तै छ । तर, अहिले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत काम पाउँदा उनलाई पनि निकै सहज भएको छ । त्यसबाट प्राप्त भएको पैसाकै कारण उनको घर खर्च चलाउन केही राहत मिलेको छ । बच्चालाई स्कुलमा पढाउन र उनीहरूका लागि कापिकिताब किन्न धेरै सजिलो भएको उनी बताउँछन् । “हामीसँग आफ्नै जमिन छैन। मजदुरी गरेर नै खर्च चलाउनुपर्ने अवस्था छ । यस्तो अवस्थामा यो कार्यक्रमले हामीलाई धेरै राहत मिलेको छ,”उनले भनिन्,“बच्चालाई स्कुल पढाउन, किताब किन्न सजिलो भयो। खान लाउनमा त्यहाँबाट आएको पैसा खर्च भयो। धेरै सजिलो भएको छ ।” उनले गहुँको सिजनमा अनाज किन्न सजिलो भएको बताए । “भनेकै समयमा पैसा हुँदैन थियो तर यो पैसाबाट निकै सजिलो भयो । ऋण लाग्नबाट जोगिएका छौँ समयमा नै पैसा पाइयो । छोरा मानिसलाई धेरै र छोरीलाई कम दिने गरिन्थ्यो यो कार्यक्रममार्फत त सबैलाई बराबर दिँदा भने निकै राम्रो भएको छ,”उनले भनिन्,“किनेर खाने मानिसका लागि सजिलो भएको छ। एउटैको कमाइले पुग्दैन थियो यो कार्यक्रमले सजिलो भएको छ । सय दिनलाई अझै धेरै समय बढाइदिएको भए धेरै राम्रो हुने थियो ।”

वडा नम्बर १० कै उषा चौधरीसँग पनि आफ्नै घर भएको ठाउँ बाहेक अन्यत्र अन्नबाली उत्पादन गर्ने जमिन छैन । उनको परिवारले पनि दैनिक मजदुरी गरेर नै जीविकोपार्जन गर्दै आइरहेको छ। मजदुरी नपाएका बेला कसरी परिवार पाल्ने भन्ने चिन्ता उनको परिवारलाई पनि हुने गरेको छ । तर, प्रधानमन्त्री रोजगार कार्यक्रममा जोडिएपछि भने उनलाई पनि घरपरिवारको खर्च जोहो गर्न निकै सहज भएको छ । “वर्षभरि मजदुरी नगरेर त खान नै पुग्दैन। सय दिने मात्रै त कसरी हुन्छ,” उनले भनिन्,“सरकारले यो कार्यक्रमलाई व्यवस्थित गरेर हामी जस्ता विपन्न परिवारलाई वर्षभरि खान पुग्ने बनाइदिएको भए राम्रो हुने थियो ।” उनले आफूले यो कार्यक्रममार्फत कमाइ गरेको रकमले छोरीलाई स्कुल पढाउन पनि सजिलो भएको बताइन् ।

वडा नम्बर १० कै तिलबहादुर कामीको ६ जनाको परिवार छ । उनको परिवारसँगपनि आफ्नो जमिन छैन। मजदुरी गरेरै दैनिक जीवनयापन हुँदै आइरहेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमले उनलाईपनि सानोतिनो गुजारा चलाउन धेरै सजिलो भएको छ । “मजदुरी गरेरै परिवार पाल्ने हो। सानोतिनो गुजारा चलेकै छ। तीन महिनाले के हुन्थ्यो तर कतै काम नपाउनु भन्दा त त्यो सय दिनले पनि अलिकति राहत मिलेको छ,”उनले भने,“घर नजिकै आफ्नो घरको खानेकुरा खाएर काम गर्न पाउँदा भने राहत मिलेको छ ।” विदेशमा गएर काम गरौँला भन्ने अवस्था पनि नभएको अवस्थामा घर आँगनमै काम पाउँदा सहज भएको उनको बुझाइ छ । “हामी नपढेकाले कुनै जागिर ख्याउला भन्ने अवस्था पनि छैन। यस्तै कार्यक्रम गरेर मजदुरी गरेर हामीले जीविकोपार्जन गर्ने हो । यो कार्यक्रम तीन महिना मात्र होइन अझ बढी भइदिएको भए हाम्रो घर खर्च चल्ने थियो,”उनले भने । 

घोडाघोडी नगरपालिका वडा नम्बर १० कै मानबहादुर कामीका तीन भाइ छोरा बुहारी भारतमा गएर मजदुरी गर्छन् । घर परिवारको खर्च चलाउनका लागि नै उनीहरू भारत पुगेका हुन। उनीहरू भारत गए पनि यहाँ दैनिक खर्च चलाउनका लागि पनि मजदुरी गर्नैपर्छ । उनको परिवारलाई पनि यो कार्यक्रमले निकै राहत मिलेको छ। मानबहादुरले घर खर्च चलाउन छिमेकबाट ऋण सापटी लिएका थिए। यो कार्यक्रममा काम गरेर आएको पैसाले उनले ऋण तिरेका छन् । समयमा नै पैसा मिलेका कारण आफूलाई सहज भएको उनले बताए। “ऋण थियो त्यो तिरे। गहुँ किन्न सहज भयो। बाहिर गएर काम गरिन्थ्यो तर, यो कार्यक्रमले भने मलाई धेरै राम्रो भएको छ। घरको खाना खाएर काम गर्न पाइएको छ,”उनले भने,“बाहिर जानु परेको भए समस्या हुन्थ्यो । बाहिर ठेकेदारले पैसा समयमा नदिने भाग्ने लगायतको काम गरिदिन्थे ।” उनले वडा कार्यालयले सूचना निकालेपछि आफूले पनि कामका बारेमा थाहा पाएर फारम भरेको बताए । “यो काम अझै भइदिए हुन्थ्यो भन्ने लागेको छ । जग्गा जमिन केही नभएका हामी जस्तालाई यो कार्यक्रमले फाइदा पुराएको छ। तर, सरकारले कामको समय बढाउनुपर्ने र ज्याला रकममा पनि वृद्धि गरिदिएको भए निकै राम्रो हुने थियो ।”

घोडाघोडी नगरपालिकाका रोजगार संयोजक कैलाश कुमार भट्ट कार्यक्रम निकै प्रभावकारी बनिरहेको बताउँछन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यविधि र मार्ग निर्देशन अनुसार आफूहरूले नगर क्षेत्रमा कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाई छ । “प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका छ। कामका लागि पारिश्रमिक आधारित सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि पनि छ। साथ साथै युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि अनुसार हामीले सञ्चालन गरिरहेका छौँ”उनले भने,“रोजगार सेवा केन्द्रमा एउटा टिम छ। जसमा प्राविधिक सहायक हुनुहुन्छ । पालिकाले काम गर्नका लागि एक जना कर्मचारीलाई यहाँ खटाएको छ। जुन हाम्रो नीति र नियम छ। त्यसै अनुसार आयोजना सम्पन्न हुने गर्छन्।” काममा खटिएका श्रमिकहरूले सय दिन बराबरकै काम पाउने उनी बताउँछन् । “यसमा जोडिएका श्रमिकहरूले एकसय दिन नै काम गर्ने हो। तर, बीचमा समस्या पर्‍यो भने भुक्तानी गरिदिनुस् भन्नुभयो भने फिल्डमा गएर कामको मूल्याङ्कन र अनुगमन गरेर प्राविधिकले रनिङ बिल उठाएर बैंक मार्फत नै प्रदान गरेका छौँ,”उनले भने,“यो कार्यक्रममा जोडिएका श्रमिकलाई अप्ठ्यारो गर्ने भन्ने हुँदैन। हामीले सबै सहजीकरण गरेर नै काम गरिरहेका हुन्छौँ ।”

सशर्त अनुदान अन्तर्गतको पैसा श्रमिकको ज्यालामा मात्रै खर्च गर्न मिल्ने भन्दै उनले यहाँ नगरपालिकाको हकमा सिँचाइ कुलो, पोखरी निर्माण लगायतको काम गराइँदै आइएको उनी बताउँछन्। “अहिले हामीले पुरानो सडक निर्माण गरिरहेका छौँ । त्यसको मर्मतको काम लगायतका काम गरिरहेका छौँ,”उनले भने। श्रमिक छनोट गर्ने काम प्रक्रिया अन्तर्गत नै हुने भन्दै उनले पहिले नै को धनी र गरिब भन्ने यकिन नहुने बताए । “प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रक्रिया छ । बेरोजगार सुची निर्धारण तथा प्राथमिक मार्गदर्शन छ २०७५ मा लागू भएको हो । सुरूमा रोजगार सेवा केन्द्रले सूचना प्रकाशन गर्ने, त्यसपछि वडामा जुन व्यक्ति छन बेरोजगार उनीहरूले आवेदन भर्ने र वडा कार्यालयले त्यसलाई स्वीकृत गरेर केन्द्रमा पुर्‍याउनुहुन्छ,” उनले भने,“त्यसपछि सबै फाइललाई हामीले कार्यपालिकामार्फत चाहिँ रुजु गर्ने गर्छौँ। त्यसपछि बेरोजगार सूची निर्धारण तथा प्राथमिकिकरण मार्गदर्शन छ त्यो अनुसार नै हामीले बेरोजगार व्यक्तिहरू विपन्न को के छ उहाँहरूले भरेको आवेदनकै आधारमा हामीले छुट्टाउने गरेका छौँ ।”

विगतमा एकचोटी नगरपालिकाले साझेदारी गरेर बगैँचा निर्माण गरिएको भन्दै उनले अहिले श्रमिकहरूको हकमा सशर्त अनुदान अन्तर्गत आउने रकम अनुसार काम भइरहेको उनी बताउँछन् । नगरपालिकाले हाते औजार लगायतका सामानहरू सहयोग गर्दै आएको उनले बताए। त्यस्तै अन्य आवश्यक भौतिक साम्रगीहरुपनि नगरपालिकाले सहयोग गर्दै आएको छ । चालु आर्थिक वर्षमा २३ सयले फारम भरे पनि बजेट कम मात्रै आएकाले यस पटक २१० जनाले मात्रै सय दिन बराबरको काम गरेको बताए। उनले यो कार्यक्रमलाई दीर्घकालीन रूपमा अगाडि बढाउनका लागि कार्यक्रम दिगो प्रभावकारी बनाउन सक्नुपर्ने बताए । “यो कार्यक्रमलाई प्रभावकारी बनाउन सकियो भने यसले यहाँका विपन्न वर्गका मानिसलाई धेरै नै राहत मिल्छ । यसतर्फ सरकारले पनि ध्यान दिन सक्नुपर्छ,”उनले भने ।

रोजगार कार्यक्रम अन्तर्गत प्राविधिक सहायकमा कार्यरत अर्जुन चौधरी आयोजनाको गुणस्तर कायम गर्नका लागि सूचिकृत श्रमिकलाई एक दिने तालिम प्रदान गरिँदै आइएको बताउँछन् । “समय–समयमा अनुगमन गरेर सल्लाह सुझाव पनि दिने गरेका छौँ। हामीले अनुगमन समिति मार्फत हेर्ने काम गर्छौँ । स्टीमेट अनुसार काम भए नभएको हेरेर नै भुक्तानी पनि दिने गरेका छौँ,” उनले भने,“समयमा नै हामीले बैंक खाता मार्फत नै रकम उपलब्ध गराउँछौँ । अति विपन्न परिवारका लागि यो कार्यक्रम निकै फलदायी बनेको छ ।” 

प्रमुख प्रशासकीय अधिकृत दिपक आचार्य प्रधानमन्त्री रोजगार कार्यक्रमको माध्यमबाट विकास निर्माण पनि हुने र विपन्न वर्गलाई रोजगारी प्रदान गर्न पनि सहज भएको बताउँछन् । नेपालको संविधानले निर्दिष्ट गरेको रोजगारीको हकलाई कार्यान्वयन गर्न कानुन निर्माण गरेर ल्याइएको कार्यक्रम प्रभावकारी बन्दै गएको उनको बुझाइ छ । “अहिले रोजगारी ग्यारेन्टी मात्र होइन कामको प्रभावकारी तापनि हामीले हेर्ने गरेका छौँ । सय दिन बराबरको काम राम्रोसँग भएको नभएको हेरेर मात्र पारिश्रमिक उपलब्ध गराउने गरिन्छ,”उनले भने,“अहिलेसम्म रोजगारीमा मानिस बढाएका छौँ शतप्रतिशत नै बजेट खर्च भएको छ।” यस वर्ष नाला निर्माण, फुटपाथ निर्माण गर्ने लगायतका काम गरिएको भन्दै अर्को वर्ष अलिकति फरक मोडलबाट सञ्चालन गर्ने योजना रहेको उनी बताउँछन् ।  

घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावत प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सफल र फलदायी कार्यक्रमका रूपमा हेर्ने गर्छन्। “केही नभए पनि विपन्न परिवारलाई सय दिनको काम दिँदा त्यसले निकै प्रभावकारी काम गरेको छ । विकास निर्माणको काममा पनि सहयोग पुगेको छ,”उनले भने,“ चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएका छौँ। प्रधानमन्त्री रोजगार कार्यक्रमसँग समन्वय गरेर काम गरेका छौँ ।” यो कार्यक्रमले स्थानीय तहको विकास निर्माणमा महत्त्वपूर्ण योगदान गरेको उनी बताउँछन् । “विभिन्न समस्या हुँदा हुँदै पनि यो कार्यक्रमले निकै सहज बनाइदिएको छ। संघीय, प्रदेश र स्थानीय तहसँग जोडेर यो कार्यक्रमलाई अगाडि बढाउन सकियो भने राम्रो हुन्थ्यो,”उनले भने,“यसलाई दिगो र थप प्रभावकारी कसरी बनाउन सकिन्छ त्यतातर्फ सरकारको ध्यान जानुपर्छ ।”

कैलाली जिल्लाको मध्य क्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाको पूर्वमा वर्दगोरिया गाउँपालिका, पश्चिममा गौरीगङ्गा नगरपालिका, उत्तर मोहन्याल गाउँपालिका र दक्षिणमा भजनी नगरपालिका रहेका छन् । यस नगरपालिकाको क्षेत्रफल ३५४ दशमलव ४४ वर्ग कि.मि.रहेको छ। यस नगरपालिकाको जनसङ्ख्या ८७ हजार ६७९ रहेको छ । १२ वटा वडामा विभाजन भएको नगरपालिकामा साबिकको दरख, साडेपानी, रामशिखरझाला र पहलमानपुर गाविस समावेश भएका छन्। शैक्षिक क्षेत्रमा ३ वटा क्याम्पस, ५७ वटा सामुदायिक विद्यालय र ३६ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् । 

विकासको मूल आधार नै शिक्षा हो गुणस्तरीय शिक्षा मार्फत यस नगरको विकास सम्भव छ भन्ने कुरा सबैले महसुस गरेको पाइन्छ। विभिन्न भाषा, संस्कृति, रीतिरिवाज तथा चालचलन भएका समुदायको बसोबास रहेको नगरपालिका पर्यापर्यटन चिनारीको मूल आधार बन्न सक्ने देखिन्छ। समाजमा पछाडि परेका वर्गलाई विकासको मूल प्रवाहमा ल्याई समृद्ध नगर विकासमा हातेमालो गर्नुपर्ने अभियानमा अघि बढेको नगरपालिकाले नगरको विकासका लागि आवश्यक पूर्वाधारको विकासमा जोड दिनुपर्ने अवधारणा अघि बढाएको छ। यो नगरपालिका सबैभन्दा बढी सामुदायिक वन भएको, सबैभन्दा बढी ताल तलैया भएको, सबैभन्दा धेरै मुक्त कमैया शिविर (१२ वटा) भएको, सबैभन्दा धेरै गरिब बसोबास भएको, क्षेत्रफलका हिसाब सबैभन्दा ठूलो भएको,     विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल र अन्य पर्यटकीय ताल भएको र वसन्ता जैविक मार्गसँग जोडिएको रूपमा पनि चिन्ने गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस