प्रधानमन्त्री कार्यालयका सचिव यादव कोइराला अवकाश « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री कार्यालयका सचिव यादव कोइराला अवकाश


४ असार २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यादव प्रसाद कोइराला अनिवार्य अवकाश लिएका छन् । २०५९ मंसिर ११ गते प्रशासन सेवाको उपसचिवबाट निजामतीमा प्रवेश गरेका कोइरालालाई आइतबार कार्यालयले बिदाइ गरेको हो । उनलाई नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याल तथा कार्यालयका सचिवहरूले बिदाइ गरेका हुन् । 

उपसचिवमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पहिलो पदस्थापन भएका कोइराला २०६६ भदौ मसान्तसम्म स्थानीय विकास, शिक्षा मन्त्रालय तथा उद्योग मन्त्रालयमा काम गरे । २०६६ असोज १ मा सहसचिव भएका कोइराला २०७५ असार तीन गतेसम्म गृह मन्त्रालय काठमाडौँबाट शुरु भई जिल्ला प्रशासन कार्यालय झापा, धनकुटा, ललितपुरलगायत जिल्लामा प्रमुख जिल्ला अधिकारी भई काम गरे । त्यसपछि गृह, अख्तियार हुँदै ऊर्जामा सहसचिवका रूपमा काम गरेको उनी २०७५ असार ४ गतेदेखि नेपाल सरकारको विशिष्ट श्रेणी(सचिव) भई पुरा कार्यकाल बिताए । 

सचिवका रूपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रपति कार्यालय हुँदै पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काम गरेका कोइरालाले प्रधानमन्त्री कार्यालयबाट नै अवकाश लिएका हुन् । 

हक्की र स्पष्ट स्वभावका कोइराला निजामतीमा इमान्दार छविका प्रशासकका रूपमा लिइन्छन् । गृहको क्याडर रहेका कोइरालाको हरेक पटक गृह सचिव फेरिन लाग्दा गृह सचिवका लागि नाम उठ्ने गरे पनि गृह सचिवबाट भने विमुख बनाइए । बोलीकै कारण बेला बेलामा चर्चामा आउने कोइराला निजामती सेवा सुधारका पक्षमा भने अन्तिम समयसम्म लड्दै आएका थिए । 

अवकाशको अवधि नजिकिनै लाग्दा मुख्य सचिवकोसमेत दाबेदार कोइराला अघिल्लो दिन अर्थात् असार ३ गते अवकाश हुने डा. वैकुण्ठ अर्यालले बाजी मारेसँगै भोली पल्ट अर्थात् असार ४ गतेदेखि सचिव पदबाट बिदा भएका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस