सर्वोच्चको आदेश विपरीतअर्को बस्तीमा चल्यो दुहबीको डोजर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सर्वोच्चको आदेश विपरीतअर्को बस्तीमा चल्यो दुहबीको डोजर


३ असार २०८०, आइतबार


काठमाडौँ । व्यापारिक भवन बनाउनका लागि गत वैशाख ५ गते नगर भन्दा जेठो बस्ती भत्काएको सुनसरीको दुहबी नगरपालिकाले अर्को बस्तीमा पनि डोजर चलाएको छ ।

नगरपालिकाले सरकारी जग्गामा व्यक्तिले बनाएको संरचनामा गत शुक्रबार डोजर चलाएको हो ।

दुहबी नगरपालिकाले कोशी राजमार्गको दुहबी नगरपालिका– ५ दुहबी बजार खण्डको १० कट्ठा ४ धुर जग्गामा रहेको बस्ती हटाउन गत वैशाख २६ गते सूचना जारी गरेको थियो ।

जग्गा खाली गर्नुपर्ने सूचना जारी भएपछि स्थानीयले दुहबी नगरपालिकालाई विपक्षी बनाएर जेठ २३ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

आनन्दकुमार हलुवाईसहित ११ जनाले दायर गरेको रिटमाथि सुनवाइ गर्दै सर्वोच्चका न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको इजलासले सूचना कार्यान्वयनमा रोक लगाउँदै जेठ ३२ गते बिहीबार नगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

लामो समयदेखि कानुनबमोजिम कर तिरी बसोबास गरिरहेकालाई नगरपालिकाको सूचनाबाट अपूरणीय क्षति पुग्ने भन्दै अदालतले पालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

आदेश जारी भएको २४ घण्टा बित्न नपाउँदै नगरपालिकाले दुहबी नगरपालिका– ५ को १० कट्ठा ४ धुर जग्गामा बनेको ३१ वटा घर टहरामा डोजर चलाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस