आसिफ र कुशलको कीर्तिमानी साझेदारीमा नेपालले जिम्बाब्वेलाई दियो २९१ रनको लक्ष्य  « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

आसिफ र कुशलको कीर्तिमानी साझेदारीमा नेपालले जिम्बाब्वेलाई दियो २९१ रनको लक्ष्य 


३ असार २०८०, आइतबार


काठमाडौँ । ओपनिङ ब्याटर आसिफ शेख र कुशल भुर्तेलको कीर्तिमानी ब्याटिङप्रेरित नेपालले आईसीसी विश्वकप छनोटको पहिलो खेलमा घरेलु टिम जिम्बाब्वेविरुद्ध २९१ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

जिम्बाब्वेको हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा आसिफ र कुशलले कीर्तिमानी साझेदारी गरेपछि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २९० रनको योगफल खडा गर्‍यो ।

नेपालको ओपनिङ जोडी आसिफ र कुशलले जिम्बाब्वेविरुद्ध १७१ रनको सानदार साझेदारी गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै उच्च साझेदारी हो ।

यसअघि २०२३ को फेब्रुअरीमा ज्ञानेन्द्र मल्ल र आसिफ शेखले नामिबियाविरुद्ध १३९ रनको साझेदारी गर्नु नै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मको उच्च साझेदारी थियो ।

शतक बनाउनबाट एक रनले चुकेका भुर्तेल ९९ रनमा आउट भए । उनी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट राष्ट्रविरुद्ध अर्धशतक बनाउने पहिलो ब्याटर समेत बने । उनले ९५ बलमा १३ चौका र दुई छक्का प्रहार गरे । 

कुशल चौथो ओभरमा एक रनमा खेलिरहँदा क्याच आउट हुनबाट बचेका थिए । रिचार्ड एन्गाराभाले गरेको बलको चौथो ओभरको चौथो बलमा सिकन्दर राजाले कुशलको क्याच छुटाएका थिए । 

कुशललाई पहिलो विकेटका लागि उत्कृष्ट साथ दिएका अर्का ओपनर आसिफले ६६ रन बनाए । आसिफले १०० बलमा सात चौका प्रहार गरे ।

नेपालले ३१।५ ओभरमा पहिलो विकेटको रूपमा भुर्तेललाई गुमाएको थियो । भुर्तेल ९९ रनमा रहँदा वेलिङ्टन मसाकाड्जाबाट बोल्ड भए । लगत्तै नेपालले ३३।५ ओभरमा अर्का ओपनर आसिफलाई गुमाएको थियो । आसिफ मसाकाड्जाकै बलमा र्यान बलबाट क्याच भए । 

यसबाहेक नेपाली टिमको खातामा कुशल भुर्तेलले ४१ रन थपे । कुशलले ४२ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले २९ बलमा पाँच चौकासहित ३१ रन थपे । आरिफ शेखले ११ बलमा १० रन थपे । गुल्सन झाले १३ रन थप्दा दीपेन्द्रसिंह ऐरी ६ रनमा र भीम सार्की ‘गोल्डेन डक’ भए । करण केसी दुई रनमा र सोमपाल कामी शून्यमा अविजित रहे ।

नेपालले ४२औँ ओभरको चौथो बलमा पेनाल्टीबापत पाँच रन पाएको थियो । जिम्बाब्वेका विकेटकिपरले फिल्डिरले दिएको बल समाउँदा एक हातको ग्लोभ्स खोलेका थिए । तर, बल समाउँदा खोलेको ग्लोभ्समा लागेपछि नेपालले पाँच रन पेनाल्टीबापत पाएको थियो ।

जिम्बाब्वेका रिचार्ड एन्गाराभाले चार विकेट लिए । नौ ओभर बलिङ गरेका एन्गाराभाले एक मेडन राख्दै ४३ रन खर्चिए । वेलिंटन मसाकाड्जाले दुई र टेन्डाई चतराले समान एक विकेट लिए ।

छनोटमा नेपाल र जिम्बाब्वे समूह ‘ए’ मा छन् । यस समूहमा यी दुई टिमसँगै नेदरल्यान्ड्स, अमेरिका र वेस्ट इन्डिज छन् ।

नेपाल र जिम्बाब्वेबीचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको यो पहिलो खेल हो । नेपालले पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।

नेपालले यसअघि जिम्बाब्वेविरुद्ध ५० ओभरको एकमात्र खेल खेलेको छ । लिस्ट ‘ए’ मान्यता रहेको उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस