काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले कृषि क्षेत्रबाट अगाडि बढ्नुको अर्को विकल्प नभएको टिप्पणी गरेका छन् ।
बिहीवार काठमाडौँमा आयोजित शिखर सम्मेलन समारोहमा मन्त्री भुसालले अर्थतन्त्रलाई सुधार र सबल बनाउन कृषि क्षेत्रबाट नै अगाडि बढ्नुको अर्को विकल्प नभएको बताएका हुन् ।
उनले भने,‘यदि हामीले हाम्रो अर्थतन्त्रलाई सुधार गर्ने,सबल बनाउने हो भने कृषि क्षेत्रबाट नै अगाडि बढ्नुको अर्को विकल्प छैन ।’
मन्त्री भुसालले अरु कुनै पनि उद्योगहरूमा प्रतिस्पर्धा गर्न नसक्ने भन्दै देशमा पर्याप्त जमिन भएकाले कृषि क्षेत्रबाट प्रतिस्पर्धा गर्न सकिने बताए ।
उनले भने,‘अरु कुनै पनि उद्योगहरूमा हामीले प्रतिस्पर्धा गर्न सक्दैनौ । तर कृषि क्षेत्रबाट प्रतिस्पर्धा पनि गर्न सक्छौं। किनकि हामीसँग पर्याप्त जमिन छ । व्यवस्थापन गर्न सकियो भने पर्याप्त जल पनि छ ।’
उनले कृषिको महत्वलाई पनि शिक्षाको हिसाबले जोड दिन जरुरी रहेको बताए ।