राजपत्रमा प्रकाशित भयो संयुक्त बैठक तथा समिति सञ्चालन नियमावली « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

राजपत्रमा प्रकाशित भयो संयुक्त बैठक तथा समिति सञ्चालन नियमावली


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । संघीय संसद् सचिवालयले संयुक्त बैठक तथा समिति कार्यसञ्चालन नियमावली राजपत्रमा प्रकाशित गरेको छ । यही जेठ १४ गते संसद्ले पारित गरेको नियमावली राजपत्रमा प्रकाशित गरिएको हो ।

उक्त नियमावली राजपत्रमा प्रकाशित नगरिएको भन्दै बुधबार (हिजो) संसदीय सुनुवाइ समितिको बैठकमा पुगेका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धका उजुरीकर्ताले प्रश्न उठाएका थिए । उनीहरूले प्रधानन्यायाधीश नियुक्तिजस्तो प्रक्रियामा सवाल उठ्ने गरी काम गरिएको भन्दै समितिको वैधानिकतामाथि प्रश्न उठाएका थिए ।

त्यसरी प्रश्न उठाउने उजुरीकर्ता न्यायाधीश, वकिललाई समितिका सदस्यहरूले नेपालको संविधानको धारा १०३ बारे जानकारी गराएका थिए ।

“यस संविधानको अधीनमा रही संघीय संसद्को प्रत्येक सदनलाई आफ्नो काम-कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ र सदनको कुनै कारबाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्र हुनेछ । यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन,” संविधानको धारा १०३ को उपधारा (२) मा उल्लेख छ ।

संविधानको यही प्रावधानमा टेकेर उजुरीकर्तालाई थामथुम पारिए पनि हिजै नियमावली राजपत्रमा प्रकाशित गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस