डोटीमा सार्वजनिक स्थलहरूमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

डोटीमा सार्वजनिक स्थलहरूमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने


३१ जेष्ठ २०८०, बुधबार


डोटी । डोटीमा सार्वजनिक स्थहरुमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने भएको छ ।

मंगलबार डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन २०६८ मा भएका व्यवस्थालाई कार्यान्वयन गर्दै सार्वजनिक स्थलहरूमा गरिने प्रयोगलाई कडाइका साथ कार्यान्वयन गरिने जनाएको छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ बमोजिम सार्वजनिक स्थहरुमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने व्यवस्था रहेको छ सोही अनुरूप डोटीमा कडाइका साथ लागु गरिनुका साथै कुनै पनि व्यक्तिले सेवन गरेको अवस्थामा कानुन बमोजिम कारबाही गरिने प्रजिअ श्रेष्ठले बताए ।

स्थानीय सरकारहरूले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनलाई कार्यान्वयन गर्न सोही अनुरूपका विभिन्न कार्यक्रमहरू तय गर्न आवश्यक रहेको जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले बताए ।

बैठकले डोटीमा सार्वजनिक स्थहरुमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने, होटल तथा रेस्टुरा लगायतले अन्य व्यक्तिलाई प्रतिकुल असर नपर्ने धूम्रपान तथा सुर्ती सेवन गर्न निश्चित स्थानको व्यवस्था गर्नुपर्ने, डोटी जिल्ला भित्र रहेका सुर्तीजन्य पदार्थ सम्बन्धी विज्ञापन होर्डीङबोर्डहरु स्थानीय सरकारले सरोकारवाला निकायहरूसँग समन्वय गरी हटाउनुपर्ने लगाएका निर्णयहरू गरिएको प्रजिअ श्रेष्ठले बताए ।

बैठकमा जिल्ला समन्वय समिति प्रमुख, स्थानीय तहका प्रमुख प्रतिनिधि, सुरक्षा निकाय, सरोकारवाला, पत्रकार लगायतको सहभागिता रहेको थियो । बैठकका स्वास्थ्य कार्यालय डोटीले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी कानुनी व्यवस्थाका बारेमा प्रस्तुतीकरण समेत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस