मर्ज हुन इच्छुक क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न त्रिविको आह्वान « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

मर्ज हुन इच्छुक क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न त्रिविको आह्वान


३० जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले एकापसमा गाभिन(समायोजन) हुन चाहने सम्बन्धन प्राप्त क्याम्पसहरूलाई असार मसान्तभित्र निवेदन दिन आह्वान गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय योजना निर्देशनालयले आज सूचना जारी गर्दै त्रिविबाट सम्बन्धन प्राप्त गरेका दुई वा दुईभन्दा बढी क्याम्पसहरू मर्ज हुन चाहेमा योजना निर्देशनालयमा निवेदन दिन सक्ने जनाएको हो ।

मर्ज हुन चाहने क्याम्पसहरूले आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराएर निर्देशनालयमा निवेदन दिन सक्नेछन् ।

निवेदनको साथमा मर्ज हुन इच्छुक क्याम्पसको बेग्लाबेग्लै निवेदन, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्रहरू, नवीकरण पत्रहरू र अक्षयकोषको रसिदसमेत पेस गर्नु पर्ने छ ।

त्रिभुवनसहितका विश्वविद्यालयको अनुमतिमा ७ सय ५३ निजी, ५ सय ३७ सामुदायिक र झण्डै डेढ सय आङ्गिक क्याम्पस सञ्चालनमा छन् । त्रिविबाट सम्बन्धन पाएका कतिपय आङ्गिक, सामुदायिक र निजी क्याम्पस विद्यार्थी अभावले सङ्कटमा परेका छन् । त्रिविका ५ सय २९ सामुदायिक क्याम्पस छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस