काठमाडौँ । वैदेशिक रोजगार विभागको सुरक्षार्थ नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) को कमान्डमा सुरक्षाकर्मीको टोली खटाइने भएको छ। विभागको सुरक्षार्थ प्रहरी नायब उपरीक्षकसहितको टोली खटाइने विषयमा आवश्यक गृहकार्य तथा छलफल भइरहेको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले बताए।
उनले भने, “विभागको सुरक्षार्थ प्रहरी नायब उपरीक्षक खटाइने विषयमा गृहकार्य र छलफल भइरहेको छ, कहिलेसम्म राखिने यकिन तय हुन बाँकी छ।” विभागमा बढ्दो सेवाग्राहीको चाप र हुल हुज्जत हुन थालेपछि विभागले सुरक्षाकर्मी माग गरेको जनाइएको छ। विभागको सुरक्षार्थ प्रहरी नायब उपरीक्षकको कमान्डमा सुरक्षाकर्मीको टोली खटाउने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्णय गरेर गृह मन्त्रालयलाई पठाएको थियो।
गृह मन्त्रालयले भने हालसम्म कुनै निर्णय नगरेको बताइएको छ। गृह मन्त्रालयबाट लामो समयसम्म पनि कुनै पहल अगाडि नबढेपछि विभागले नै सक्रियता देखाएको जनाइएको छ। दिनदिनै ठगीका घटना बढ्दै जाने र विभागमा आएर अनावश्यक होहल्ला गर्नुका साथै काममा अवरोध सिर्जना हुँदै आएको सूचना अधिकारी सुवेदीले जानकारी दिए। उनका अनुसार हाल विभागमा सादा पोसाकमा प्रहरी खटाइएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिक दिनप्रतिदिन ठगिँदै आएका घटनाका उजुरी विभागमा दिनहुँ बढ्दै गएको विभागले जनाएको छ।