प्रधानमन्त्री रोजगार : अध्ययनसँगै रोजगारी, सुख दुःखमा परिवारको साथ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री रोजगार : अध्ययनसँगै रोजगारी, सुख दुःखमा परिवारको साथ


१६ जेष्ठ २०८०, मंगलबार


कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १० सितलापुरका दिलीप रैदान (२१) बीबीएस दोस्रो वर्षमा अध्ययनरत छन् । उनको दिनचर्या पढ्नेमा मात्र सीमित छैन । पढाई सँगसँगै पढाई खर्च जुटाउनु पनि उनको दिनचर्या भित्रै पर्छ । 

रैदान बिहान ६ बजेदेखि ९ बजेसम्म कलेज जान्छन् । कलेजको दूरी साइकलमा करिब आधा घण्टाको छ । कलेजबाट फर्किए पछिको बाँकी समय उनी पढाई खर्च जुटाउन मजदुरी गर्छन् । यसको जोहो गरिदिएको छ, प्रधानमन्त्री रोजगार कार्यक्रमले । प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएपछि पढाई खर्च जुटाउन सजिलो भएको उनको भनाई छ । 

‘प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आउने पारिश्रमिकले आवश्यक पुस्तक किन्ने गरेको छु,’ उनले भने, ‘घर खर्च चलाउन पनि प्रयोग हुन्छ ।’ रैदान परिवारको जेठा छोरा हुन् । परिवारमा उनीसँगै बाबुआमा एक भाइ र एक बहिनी छन् । घरको जेठो छोरो भएको कारण पनि परिवारको जिम्मेवारी उनीमाथि छ ।

पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएदेखि नै आफू यसमा आबद्ध भएको उनले बताए । कम्प्युटर एप्लिकेशनमा डिप्लोमासमेत गरेका रैदानलाई यो कार्यक्रमले पढाई खर्च जुटाउन मद्दत पुर्‍याएको छ । ‘बिहानमा पढ्छु । दिउसोमा रोजगारी पनि पाएको छु,’ उनी भन्छन्, ‘यो कार्यक्रम निरन्तर भयो र केही सिप सिक्ने मौका पनि मिल्यो भने बिदेसिनु पर्ने थिएन ।’ 

रोजगारीसँगै सिप सिक्न पाए भविष्य अझ उज्ज्वल हुने उनको आश छ । उनी भन्छन्, ‘बाटो बनाउने, नाली खन्ने, सार्वजनिक ठाउँ सफा गर्ने मात्र नभएर स्वरोजगार बनाउने काम पनि गर्नु पर्छ ।’ 

महिला श्रमिकलाई सहज

प्रधानमन्त्री रोजगार कार्यक्रमले पढाई खर्च मात्रै जुटाइ दिएको छैन, विपन्न परिवारलाई हातमुख जोर्ने व्यवस्था पनि मिलाइ दिएको छ । शिवराज– ९ विजोरीकी उषा पुन मगरका अनुसार बेरोजगारहरूलाई घर खर्च चलाउन सहज भएको छ । कार्यक्रम सुरु भएदेखि नै आबद्ध हुँदै आएकी उनले पुरुषसरह नै काम गर्ने गरेको अनुभव सुनाइन् । बेल्चा हान्ने, खन्ने काम गरेको उनले बताइन् ।

उनको परिवारमा ससुरा, फुपुसासु, श्रीमान् र दुई छोराहरु छन् । उनका अनुसार श्रीमान् पनि काठको मिस्त्री काम छन् । परिवार पाल्न र छोराहरुको पढाई व्यवस्थापन गर्न श्रीमान्को कमाइमा आफूले थपथाप गरेको मगरले जानकारी दिइन् ।

मगरको परिवार ऐलानी जग्गामा बस्दछ । ‘हामी पहाडबाट झरेको हो । सुकुम्वासी जस्तै छौँ । आफ्नो जमिनको उत्पादनले ६ महिना खान मुस्किल पर्छ,’ उनले भनिन्, ‘वर्षभरि खान धौधौ हुन्छ । छोराहरूलाई राम्रो स्कुलमा पढाउन पनि सकेका छैनौँ ।’ 

मगरको जेठो छोरा १० कक्षा र  सानो छोरा ५ कक्षामा पढ्छन् । दुवै छोराहरूलाई माथिसम्म पढाउने इच्छा रहेको उनले सुनाइन् । ‘वर्षै भरी काम पाए राम्रो हुन्थ्यो,’ उनले भनिन्, छोराहरूलाई माथिसम्म पढाउन पाउँथे ।’ कार्यक्रममा सहभागी भएर बाटोमा माटो पटान र नाली खन्ने काम गरेको अनुभव उनले सुनाइन् । 

मगरका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमले महिला श्रमिकहरूलाई रोजगारी प्राप्त गर्न सहज भएको छ । वडा नं. १० की वडाध्यक्ष मञ्जु मिश्र पनि कार्यक्रमबाट महिला श्रमिकहरू बढी लाभान्वित भएको बताउँछिन् । उनका अनुसार बाटो खन्ने, मर्मत गर्ने, नाली बनाउने, सफाई गर्ने जस्ता काम महिलाले पनि गर्न सक्ने भएकाले पनि महिला श्रमिक बढी लाभान्वित भएका हुन् ।

सुख दुःखमा परिवारको साथ

शिवराज– १० शीलतापुरकी इन्द्रावती पासीका अनुसार पनि कार्यक्रममा धेरैजसो महिला श्रमिकहरू सहभागी छन् । ‘बाटो खन्ने, बेल्चा चलाउने काम गर्नु पर्छ,’ पासीले भनिन्, ‘कोदालो खन्ने, बेल्च चलाउने काम महिलाका लागि कहाँ सजिलो छ र ?’ परिवार पाल्न र सन्तानको भविष्यका लागि सजिलो अप्ठ्यारो जस्तो काम पनि गर्नुपर्ने उनले बताइन् ।

उनका चार सन्तान छन् । जसमा दुई छोरा र दुई छोरी छन् । ठुली छोरी ७ कक्षामा अध्ययन गर्छिन् । अर्को एक छोरा र एक छोरीले ५ कक्षामा अध्ययन गर्दछन् । ‘कान्छो छोरा तीन वर्षको छ । स्कुल जाँदैन,’ उनले भनिन्, ‘छोराछोरी पढाउन र स्कुलको ड्रेस किन्न पारिश्रमिकले सहज बनाएको छ ।’ 

पासीका श्रीमान् पनि गाउँघरमै मजदुरी गर्दछन् । आफूले पनि रोजगारी पाएपछि श्रीमान् रोजगारीका लागि नियमित भारत जानु परेको छैन । ‘श्रीमान् श्रीमतीसँगै बस्न पाएका छौ,’ उनले सुनाइनन् । प्रधानमन्त्री रोजगार कार्यक्रमले श्रीमान्लाई भारत जान नपर्ने बनाएकोमा उनी खुसी छन् ।

‘हाजिरी अनुसार पैसा आउँछ । त्यो पनि बैंकमार्फत आउँछ । कसैले ठग्ला भन्ने डर पनि छैन,’ उनले भनिन् । गत वर्ष आवेदन दिएकोमा उनले यो वर्ष रोजगारी पाएकी हुन् । वर्षै भरी रोजगारी पाएमा जीविकोपार्जनका थप सहज हुने उनको अपेक्षा छ ।

दैनिक चले पनि सङ्कटमा भगवान् भरोसा

प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारी प्रदान गर्नुका साथै समुदायमा मिलेर काम गर्ने भावनाको विकास गरेको छ । श्रमदान गर्ने क्रममा हुने भेटघाट र काम गर्ने शैलीले सामाजिक भावनाको विकास गरेको हो ।

शिवराज– १० बकौलीका शिवप्रसाद चमारको अनुभव पनि यस्तै छ । ‘कुलो बनाउने, सडक खन्ने, बेल्चा चलाउने, माटो फाल्ने काम गर्नुपर्छ, कार्यक्रम सुरु भएदेखि नै आबद्ध चमार भन्छन्, ‘सुरुमा महिलाहरूले काम गर्दछन् । पछि पुरुषहरूले त्यसलाई फिनिसिङ गर्ने गर्छौँ । काम हुन्छ । दैनिकको भेटघाटले सुख दुःखका साटासाट गर्ने वातावरण पनि बन्छ ।’ उनका अनुसार समूहमा काम गर्ने बानीको विकास भएको छ । 

‘गरिब मान्छे मजदुरी गरेर आएको पैसा घर खर्च मै सकिन्छ,’ उनले भने, ‘छोरो ११ कक्षामा पढ्दै छ । उसको लागि पनि खर्च हुन्छ । एकै पटक बुझाउन सकिँदैन । क्रमशः बुझाउँदै जाने हो ।’ 

चमार तीन छोरा र एक छोरीका पिता हुन् । एक छोरा र एक छोरीको विवाह गरिदिए पनि बाँकी दुई छोराहरूको विवाहको पिरलो उनलाई छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले दैनिकी त चलेको छ । तर, भोलि कुनै कामका लागि पैसा चाहियो भने त्यसको जोहो गर्न चमार परिवारलाई सकस छ । चमार परिवार टिनको छत रोखको छाप्रोमा बस्ने गर्दछन् ।

पाठेघरको अप्रेसन गरेकी श्रीमतीलाई तागतिलो र पोसिलो खानेकुरा खुवाउन नसकेको उनले सुनाए । ‘श्रीमती बिरामी छ । तागतिलो  खानेकुरा खुवाउन मन छ । गरिब मान्छे अर्काको खेत गरे मात्र खान पुग्छ । तागतिलो खानेकुरा कसरी खुवाउनु,’ उनले भने, ‘काम गरेको ड्याडी मर्दैन । ठगी हुँदैन । करिब ३५ दिनको काम गरेको छु । वर्ष भरी नै काम पाए गज्जब हुने थियो । काम बढाई दिनु पर्‍यो ।’ रोजगारीका दिन वृद्धि हुनु भन्ने श्रमिकको अपेक्षा प्रति रोजगार सेवा केन्द्र पनि सकारात्मक छ ।

के भन्छन् जनप्रतिनिधि

चमार जस्तै विपन्न परिवारका लागि वरदान साबित भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध मजदुरहरूलाई वर्षभरि नै रोजगारी प्रदान गर्न सके गरिबको मुहारमा मुस्कान देख्न सकिने अपेक्षा जनप्रतिनिधिहरूको रहेको छ । तर, सीमित बजेटका कारण सबैलाई समेट्न समस्या भइरहेको उनीहरूले सुनाए ।

वडा नं. ९ का अध्यक्ष राम गोपाल चौधरी थारु– प्रधानमन्त्री रोजगार कार्यक्रमले स्थानीय विपन्नहरूलाई रोजगारी प्रदान गरेको छ । यसमा म धेरै खुसी छु, । बाटो निर्माण तथा मर्मत, विद्यालय र मठमन्दिरहरूको सरसफाइ, सिँचाइ नालीहरूको सरसफाइ तथा मर्मत जस्ता कार्यहरू हुने गरेका छन् ।

कार्यक्रमले विशेष गरी वर्षभरि खान नपुग्नेहरू लाभान्वित भएका छन् । पारिश्रमिकले उनीहरूको रोजीरोटी चलेको छ । जो विपन्न छन्, जसलाई आफ्नो सम्पत्तिले दुई तीन महिनाभन्दा बढी खान पुग्दैन त्यस्ता परिवारलाई विशेष प्राथमिकता राखेर कार्यक्रममा सहभागी गराउने गरिएको छ । सिफारिस हुने गरेको छ।

रोजगारीका लागि धेरैले फारम भरेका हुन्छन्, तर हामीले प्राथमिकताका आधारमा कार्यक्रममा सहभागी गराउने गर्दछौँ । यसले केही असन्तुष्ट पनि हुन सक्छन् । 

वडा नं. ३ का वडाध्यक्ष टेकलाल सापकोटा– कार्यक्रम अन्तर्गत बाटो बनाउने, कुलो बनाउने, नाली बनाउने, मठमन्दिरसम्म जाने बाटो बनाउने, मन्दिर सरसफाइ गर्ने, नदी तटबन्ध गर्ने जस्ता काम हामीले गरेकाछौं । 

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट बढाउनु पर्ने अवस्था छ । बेरोजगार धेरै भएकाले सूचीकृत भएका सबैले रोजगारीको अपेक्षा गर्ने गर्दछन् । बजेट बढ्यो भने सूचीकृत सबैलाई समेट्न सक्छौँ । कहिलेकाहीँ वडालाई सिफारिस गर्न नै समस्या देखिन्छ । 

वडा स्तरका योजनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमसँग जोडेर लैजाने प्रयास मैले गरेको थिएँ । तर, ठेकेदार कम्पनीहरूले सिपयुक्त जनशक्ति खोज्ने भएकाले पालिकाका योजनामा प्रधानमन्त्री रोजगारका श्रमिकलाई प्रयोग गर्ने विषयमा केही असहज भयो ।

उपभोक्ता समितिबाट सञ्चालित योजनामा श्रमिक खपत गर्न सकिए पनि टेन्डरमा ठेकेदार मार्फत हुने काममा श्रमिक खपत हुन नसक्ने अवस्था छ । तालिम प्राप्त, सीपयुक्त जनशक्ति आवश्यक पर्ने र अर्कोतर्फ प्रधानमन्त्री रोजगारका श्रमिकले खटिएर लामो समय काम पनि नगर्ने संस्कारले समस्या पर्दो रहेछ । सीपयुक्त जनशक्ति तयार गर्नेतर्फ ध्यान दिन जरुरी छ ।

कच्ची बाटो खन्ने, नाली सफा गर्ने, मठमन्दिर सरसफाइ भन्दा अलि फरक प्रकृतिका कार्यक्रममा सहभागी गराउन मिल्ने गरी सीपयुक्त जनशक्ति उत्पादनतर्फ ध्यान दिनु पर्छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम राम्रो कार्यक्रम हो । तर, अब यसलाई स्थानअनुसार रोजगारीको प्रकृति परिवर्तन गर्नुपर्ने आवश्यकता छ । सहरी क्षेत्रमा सिपयुक्त जनशक्ति बढी चाहिने भएकाले अब त्यो प्रकारको जनशक्ति उत्पादन गर्ने तर्फ ध्यान केन्द्रित गर्नुपर्छ ।

पालिकाका योजनामा लगानी गरे प्रभावकारी हुन्छ

दक्ष/अर्धदक्ष/अदक्ष श्रमिकको खोजीमा रहेका रोजगारदाता र श्रम बजारमा उपलब्ध अवसरको सूचनाको आदानप्रदान गरी रोजगारीको प्रत्याभूतिमा सहजीकरण, सहकार्य र समन्वय गर्न स्थानीय तहमा रोजगार सेवा केन्द्रको व्यवस्था गरिएको छ । ती रोजगार सेवा केन्द्रमार्फत नै बेरोजगारको तथ्याङ्क लिने र न्यूनतम रोजगारी उपलब्ध गराउने गरिएको छ ।

स्थानीय तहदेखि रोजगार कार्यक्रमलाई विस्तार गरी न्यूनतम रोजगारको प्रत्याभूति गराउने रणनीतिसहित सुरु भएको यो कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहको भूमिका पनि महत्त्वपूर्ण रहेको छ । तर, १ सय दिनको रोजगारीले पूर्ण रोजगारी सिर्जना नहुने प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डे बताउँछन् । 

उनका अनुसार अदक्ष मजदुरहरूका लागि रोजगारी सिर्जना भएको छ, दक्ष र अर्धदक्षहरूको लागि रोजगारी सिर्जना हुन सकेको छैन । साथै दक्ष र सिपयुक्त जनशक्ति यसबाट लावान्वीत हुन सकिरहेका छैनन् । पालिकाका अन्य योजनाहरूसँग जोडेर प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अगाडी बढाउनु पर्ने आवश्यकता रहेको उनले बताए । पालिकाले बनाएका योजनामा संघीय सरकारले लगानी गरेमा थप प्रभावकारी हुने उनको भनाइ छ ।

स्थानीय तहको योजनाहरूमा प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकहरूलाई जोडेर अघि बढ्ने योजना रहेको रोजगार सेवा केन्द्रका रोजगार सहायक विजय बलालले जानकारी दिए । उनका अनुसार स्थानीय उद्योग तथा व्यवसायमा स्थानीय श्रमिकहरू नै खपत गर्ने गरी कार्यविधि बनाइएको छ । आगामी दिनमा कार्यविधि कार्यान्वयनमा जोडिइने उनको भनाइ छ ।

मजदुरहरूका लागि पालिकाले औजारहरू उपलब्ध गराएको छ । यसले मजदुरहरूलाई काम गर्न सहज भएको छ ।

सूचीकृत बेरोजगार र रोजगार पाउनेको तथ्याङ्क

नगरपालिकामा आर्थिक वर्ष २०७६/०७७ देखि आव २०७९/८० सम्म ४ हजार ४ सय ४६ जना बेरोजगारको रूपमा सूचीकृत भएका छन् । जसमध्ये १ हजार ३ सय ४७ जनाले रोजगारी पाएका छन् । 

रोजगार केन्द्रका रोजगार सहाय विजय बलालका अनुसार सकेसम्म रोजगारीका लागि आवेदन दिनेहरू सबैलाई रोजगारीमा समेट्ने प्रयास भइरहेको छ । उनले भने, ‘सिस्टमले नै प्राथमिकताकरण देखाउँछ र सोही अनुसार नै रोजगारी प्रदान गर्ने गरिएको छ ।’

तथ्यांकअनुसार २०७६/०७७ मा १ हजार २ सय ९२ जना सूचिकृत भएकोमा १ सय ४३ जनाले रोजगारी पाएका थिए । आव २०७७/०७८ मा १ हजार ६५ जना सूचीकृत भएकोमा ४ सय १९ जनाले रोजगारी पाएका बलालले जानकारी दिए ।

यसैगरी २०७८/०७९ मा १ हजार ६४ जना सूचीकृत भएकोमा ४ सय १९ जनाले रोजगारी पाएका छन् । र २०७६/८० मा १ हजार २५ जना सूचीकृत भएकोमा  २४० जनाले रोजगारी पाएका छन् ।

बलालका अनुसार एकातर्फ रोजगारी प्रदान गर्ने काम भएको छ भने अर्कोतर्फ स्थानीय आवश्यकता अनुसार योजना छनोट गरेर काम हुने गरेको छ । सिँचाइ, सडक सँगसँगै पर्यटन प्रवर्द्धनलाई पनि प्राथमिकतामा राखेर योजनाहरू बनेका छन् ।

यसको उदाहरणको रूपमा वडा नम्बर ९ को शिवगढी मन्दिर जोने बाटो अन्तर्गत पाथी फाल्नेदेखि शिवगढी फेदीसम्म जाने सडक मर्मतलाई लिन सकिन्छ । जसले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । बाटो मर्मत गरेपछि मन्दिरसम्म पुग्न सहज भएको छ । खोलादेखि मन्दिरको सिँढीसम्म जाने बाटोमा माटो राखेर सहज बनाइएको बलालले बताए ।

पालिकामा सञ्चालित योजनाहरू 

शिवराज नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कृषि कुलो निर्माण, सडक निर्माण तथा मर्मत, पदमार्ग निर्माण, नाली निर्माण तथा मर्मत, बाटोमा माटो पटान लगायतका कार्यहरू भएका छन् । 

स्थानीय आवश्यकता अनुसारका योजनालाई प्राथमिकतामा राखेर काम हुने गरेको छ । आव २०७९/८० मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विभिन्न बाटोमा माटो पटान, सिँचाइ कुलो निर्माण तथा सरसफाइ, नाली मर्मत तथा सरसफाइ लगायतका कार्यहरू भएका छन् । योजनाहरू प्रत्येक वडामा समानरुपमा सञ्चालन भएका छन् ।

वडा नं. १ मा नेपाल आदर्श मा.वि. को दक्षिणतर्फ दुर्गा कलौनीदेखि सोनपुर जोड्ने बाटो निर्माण तथा आदर्श नगर पूर्वदेखि भलुही जाने जवई कल्भटसम्म बाटो निर्माण सम्पन्न भएको छ भने चैनपुरमा खन्न बाँकी रहेको कुलो खन्ने योजना छ । वडा नं. २ मा मदरहवा चिन्कु थारुको घरदेखि चन्दनपुर बगैँचासम्म र पूर्व गौरियादेखि हरहट्टीसम्म सार्वजनिक कुलो खन्ने तथा सरसफाइको काम भएको छ । 

वडा नं. ३ मा मजगाँउदेखि बलुहवा हुँदै होचवासम्म सिचाई कुलोसहितको कृषि सडक निर्माण, वडा नं. ४ मा वरगदवा इवरार मु.को घरदेखि पर्सिया जाने बाटो मर्मत तथा बरगदवा र पिपरा गाउँमा नाली सरसफाई गरिएको छ । वडा नं. ५ मा दक्षिण रहटकोलदेखि  उत्तर जाने बाटोमा पर्ने चर्चको दक्षिण पूर्व हुँदै सुकुम्वासी बस्तीसम्म जाने बाटोमा नाली निर्माण तथा माटो पटान गरिएको छ ।

वडा नं. ६ मा दक्षिण पिपरी पूर्व पोखरीको दक्षिण तर्फकोको बाटो तथा कुदरबेटवादेखि दक्षिणतर्फ मजिगवाँ खलिहान भई आउने बाटोमा माटो पटान गरिएको छ । वडा नं. ७ मा निविहवा गाउँको उत्तरदेखि पश्चिम हुँदै दक्षिणतर्फ गएको नाला सफाई गरिएको छ । 

वडा नं. ८ मा  देवीपुरको उत्तर तर्फदेखि जिगनहीया सिमाना सडकमा माटो पटान गर्ने काम भएको छ । यसैगरी वडा नं. ९ मा  रमुवादह पाथिफाल्नेदेखि शिवगढी जाने सिँढी सम्मको बाटोमा माटो पटान गरिएको छ ।

वडा नं. १० मा सिवहरवा गाउँभित्र बाटो निर्माण तथा कुलो सरसफाइ र मगनी यादवको घरदेखि दरखसवासम्म कुलो मर्मतको काम सम्पन्न भएको छ । वडा नं. ११ मा मर्जातपुर मंगरे अहिरको नलका, गोठदेखि पूर्व भदोखरको सिमानासम्म सडक निर्माण तथा माटो पटानको काम भएको छ ।

यसैगरी आव २०७८÷७९ मा पनि पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाटोमा माटो पटान, सिँचाइ कुलो निर्माण तथा सरसफाइ लगायतका विभिन्न योजनाहरू सम्पन्न भएका छन् ।

वडा नं. १ मा वडा कार्यालयदेखि चैनपुरसम्म जाने कुलो खन्ने तथा सरसफाइ गर्ने, वडा नं. २ मा मदरहवादेखि चन्दनपुरको उत्तर हुँदै लुम्बिनी ग्रीन रिसोटसम्म र चन्द्रौटा सुन्दरी डाँडा सडक खण्डको स्रेश राईस मिलदेखि गौरिया हुँदै हरहट्टीसम्म जाने कुलो खन्ने तथा सफाई गर्ने काम भएको थियो । यसैगरी हरहट्टी गाउँको पश्चिम सुरई खोला नदी उकास क्षेत्र, दक्षिण तिलहवा तथा उत्तरतर्फ गौरिया खोलामा जाने बाटोको दक्षिणमा उपभोग नभएको स्थानमा तारबार तथा वृक्षारोपण गरिएको थियो । 

वडा नं. ३ मा  होचवा बलराम थारुको वोरिङदेखि उत्तर मैनार जाने बाटो निर्माण तथा सिचाई कुलो निर्माण र मैनारदेखि बलुहवा गाउँ जोड्ने बाटो निर्माण गरिएको थियो ।  वडा नं. ४ मा बरगदवा विद्यालयदेखि गडगौरा जानेसम्म बाटो मर्मत गरिएको थियो ।

वडा नं. ५ मा रत्नडिहवा कल्भर्टदेखि पश्चिम जाने बाटोमा माटो पटान र चैनपुर वडा नं १ र वडा नं ५को सिमानाको दक्षिणको बाटोमा माटो पटान गरिएको थियो । वडा नं. ६ मा  दक्षिण पिपरी गाउँदेखि पूर्व शिवराज १० को सिमानासम्म र उत्तर बालबजी प्लाई उद्योगसम्म बाटोमा माटो पटान गरिएको थियो । 

वडा नं. ८ मा बिसनपुरको उत्तर तिलहा सडकदेखि करवला सम्म सडकमा माटो पटान र वडा नं. ९ मा शिवगढी मन्दिर जाने बाटो अन्तर्गत रमुवादह थारु गाउँदेखि पाथी फाल्नेसम्म जाने सडक मर्मत गरिएको थियो । यसैगरी, शिवगढी मन्दिर जाने बाटो अन्तर्गत पाथी फाल्नेदेखि शिवगढी फेदीसम्म जाने सडक मर्मत गरिएको थियो ।

वडा नं. १० मा नौडिहवा राकेशको खेतदेखि पूर्व भकरकन्डासम्म सडकमा माटो पटान तथा लालपुर गाउँको मूल बाटोमा दुबैतिर नाली खन्ने काम भएको छ । यसैगरी श्रीनडिहवा गाउँको उत्तर पश्चिम कन्चनीयादेखि सितलापुर गाउँ पूर्व दक्षिणसम्मको कुलो खन्ने तथा मर्मत गर्ने काम सम्पन्न भएको थियो ।

आव २०७७/७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पालिकामा विभिन्न १६ वटा योजनाहरू सञ्चालन भएका थिए । जसमा वडा नं. १ मा भलुही झरनिया खेतको बाटोदेखि करहिया खल्यान तथा करहिया खैरी हुँदै करहिया गाउँको मुख्य बाटो जोड्ने बाटो निर्माण र जगत्रादेवी मन्दिरदेखि पश्चिम बग्ने कुलो मर्मत तथा माटो पटान गर्ने कार्य भएको थियो ।

यस्तै वडा नं. २ मा हररवा वलबहादुर थारुको घरदेखि हरहवा गाउँको पश्चिम हुँदै घोलासम्म कुला, मदरहवादेखि चन्दनपुर लुम्बिनी बिल रिसोर्ट हुँदै घोलासम्म कुलो र चन्दनपुरदेखि जेनिथ इङ्लिस बोर्डिङसम्मको कुलो खन्ने काम भएको थियो । हरहट्टी गाउँदेखि प्रदर्शनी जोड्ने बाटो निर्माण भएको छ ।

वडा नं. ३ मा गल्ली कटिङदेखि बलुहवा गाउँसम्म सिचाई कुलो निर्माण र श्यामलालको वोरिङदेखि कहरा खोलासम्म बाटो र सिचाई कुलो निर्माण गरिएको छ । वडा नं. ५ मा शिवराज नगरपालिकाको भवन हुँदै जय खोला छेउ हुँदै राष्ट्रिय माविसम्म आउने बाटो निर्माण भएको थियो । 

वडा नं. ६ मा बन्डा शाहको घरदेखि राम समझ यादवको घर हुँदै उत्तर समययानसम्मको बाटोमा माटो खन्ने र पुर्ने काम भएको छ । दक्षिण पिपरी गाउँको पूर्व शिवराज १० को सिमाना गएको बाटोमा माटो पटान गरिएको थियो ।

वडा नं. ७ मा बालानगर जवाभारी र निविहवासम्म कुलो मर्मत, जुमली निबिहवा कुलो खन्ने, लिड़क रोडदेखि जुमली सडक छेउमा माटो पटान गरिएको छ । वडा नं. ९ मा खैरी उत्तरदेखि लाहुरे होटेलसम्म माटो पटान गर्ने र बानियाभार चौपारीदेखि फिल्ड हुँदै पूर्व चम्पासम्म जाने सडक निर्माण गर्ने काम भएको छ ।

वडा नं. १० मा लालपुर वडा कार्यालयदेखि दक्षिण जवाभारी सिमानासम्म सडक मर्मत, सितलापुर गाउँ र पश्चिम चिन्कु यादवको घरदेखि मूल सडकको दुवैतिर नाली निर्माण गरी सडक मर्मत र खैरहवा बाँधदेखि लालपुर सम्म कुलो मर्मत तथा खन्ने काम भएको छ । वडा नं. ११ मा मर्जातपुरदेखि मैटहवा जाने सडक माटो पटान र रामकृपाल बानियाको दुकानदेखि गुलरी सिमानासम्म सडक निर्माण गर्ने कार्य भएको छ ।

लक्षित समूह र उपलब्धी

प्रधानमन्त्री रोजगार कार्यक्रमको मुख्य दुई प्रकारका रणनीतिक क्रियाकलापमा सेवाग्राहीको पहुँच सुनिश्चित गर्ने सोच राखिएको छ । जसअनुरूप न्यूनतम रोजगारीका लागि तीन प्रकारका लक्षित वर्ग तोएिको छ । 

पहिलोमा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका विपन्न रोजगार व्यक्तिहरू पर्दछन् । यसैगरी दोस्रोमा निवार भत्ताको सन्दर्भमा विपन्न बेरोजगार व्यक्ति तथा निजको परिवार पर्दछन् । साथै आन्तरिक रोजगारीका लागि रोजगार सेवा केन्द्रबाट रोजगारमूलक सेवा तथा सहायता प्रदान गर्न लक्षित वर्ग/सेवाग्राही पर्दछन् । तेस्रोमा श्रमयोग्य जनशक्ति पर्दछन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको दीर्घकालीन सोचका आधारमा वार्षिक क्रियाकलाप सहित ५ वर्षको कार्यक्रम दस्ताबेज रहेको छ । सोही अनुसार आवश्यक बजेट तथा स्रोत व्यवस्थापन वार्षिक विनियोजनबाटै हुँदै आएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम २०७८/७९ को वार्षिक प्रतिवेदन अनुसार पाँच वर्ष (आव २०७५/०७६ देखि २०७९/८०) को लागि कार्यक्रमको अनुमानित बजेट २६ अर्ब ६२ करोड ३ लाख ७७ हजार ८६ प्रक्षेपण गरिएको छ ।

कार्यक्रमलाई नतिजामुखी बनाउन अपेक्षित नतिजाको खाका तयार गरिएको छ । कार्यक्रमको कार्यान्वयनबाट आन्तरिक रोजगारी र स्वरोजगारीका अवसर वृद्धि भएका छन् । श्रमयोग्य जनशक्ति र आर्थिक रूपमा सक्रिय उमेर समूहका नागरिकहरूको स्थायी मौसमी तथा अल्पकालीन रोजगारी र स्वरोजगारीका लागि आवश्यक पर्ने सीप तथा क्षमता अभिवृद्धिद्वारा रोजगार तथा स्वरोजगार बन्न प्रोत्साहन र सहयोग सेवा उपलब्ध हुनेछ । 

औसत ७५ दिनको रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रमको वार्षिक प्रतिवेदन २०७९ अनुसार आव २०७८/७९ मा कार्यक्रमले २ लाख बेरोजगार व्यक्तिलाई १ सय दिनको रोजगारी उपलब्ध गराउने लक्ष्य लिएकोमा बेरोजगारको सूचीकरणका लागि  ७ लाख ८ हजार २ सय ४५ जना बेरोजगार प्राथमिकीकरण एवं सूचीकृत भएका थिए । जसमध्ये स्थानीय तहले १ लाख ६३ हजार ७ सय ८ जना रोजगारीमा संलग्न गराएको छ ।

दुई करोड रोजगारी सिर्जना गर्ने लक्ष्य राखेकोमा स्थानीय तहले १ करोड २२ लाख १६ हजार ६ सय ११ दिनको न्यूनतम रोजगारी सिर्जना गरेका थिए । स्थानीय तहले औसतमा ७५ दिनको न्यूनतम रोजगारी सिर्जना गरेका प्रतिवेदनमा उल्लेख गरिएको छ ।    

कार्यक्रम अन्तर्गत कूल १८ हजार १ सय ९५ आयोजनाहरू कार्यान्वयनमा आएका छन् । प्रतिवेदन अनुसार कार्यान्वयन भएका आयोजना मध्ये सडक यातायात क्षेत्रमा ४७ प्रतिशत, साना सामुदायिक पूर्वाधारका विभिन्न आयोजनामा १८ प्रतिशत र ऊर्जा, सिँचाइ तथा नदी नियन्त्रणमा ९ प्रतिशत कार्यान्वयन भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस