काठमाडौँ । सरकारले आर्थिक बर्ष २०८०-०८१ को नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ ६ बजे संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार नीति तथा कार्यक्रमलाई टुङ्ग्याएर छपाइ र अङ्ग्रेजीमा अनुवादका लागि पठाइ सकिएको छ । नीति तथा कार्यक्रममाथि सरकारले मङ्गलवार सत्ता गठबन्धनका १० दलहरूको सुझाव लिएको थियो । त्यस्तै प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएर सुझाव मागेका थिए ।
सरकारी ढुकुटी नभरिएको अवस्थालाई ध्यान दिँदै कृषि उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित भएको नीति तथा कार्यक्रम आउने बताइएको छ । प्रधानमन्त्री आफैँले सार्वजनिक यसपालिको नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित हुने बताइरहेका छन् ।
नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रधानमन्त्रीसँग बसेका माओवादी नेताहरूका अनुसार प्रधानमन्त्री रोजगार लगायतका आधा दर्जन वितरणमुखी कार्यक्रमलाई यसपटक मर्ज गरेर उत्पादन र रोजगारी सिर्जना हुने खालको बनाइने छ ।
स्रोतका अनुसार प्रधानमन्त्री रोजगार, प्रधानमन्त्री कृषि आधुनिकीकरण लगायतका धेरै कार्यक्रममा बजेट छरिएको भन्दै तिनलाई ‘मर्ज’ गरिएको छ ।
त्यस्तै युवा प्रतिभा पालन रोक्न शिक्षामा सुधार गर्ने कुरा पनि कार्यक्रममा समेटिएको छ । १० दलीय सत्ता गठबन्धनको बैठकमा पनि यसबारे सरकारले सुझाव प्राप्त गरेको थियो ।
नीति तथा कार्यक्रममा सामाजिक न्यायसहितको विकासलाई जोड दिने गरी पनि कार्यक्रम राखिएको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारको प्राथमिकता ‘सामाजिक न्यायसहितको समृद्धि र सुशासन’मा रहेको बताउने गरेका छन् ।
नयाँ भन्दा पनि यसअघिकै ठूला र रणनीतिक महत्त्वका पूर्वाधार आयोजनालाई प्राथमिकता दिइएको बताइएको छ ।
सङ्घीयताको सबलीकरण, सुशासन प्रवर्धन र सार्वजनिक सेवा प्रवाहमा सुधार तथा जलवायु परिवर्तनलाई ध्यानमा राखेर दिगो विकासमा जोड दिने कार्यक्रम रहेको बताइएको छ ।