केसीको अध्यक्षतामा बस्यो लेखा समितिको बैठक « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

केसीको अध्यक्षतामा बस्यो लेखा समितिको बैठक


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौं । सार्वजनिक लेखा समितिको बैठक सुरु भएको छ । सिंहदरवारस्थित समितिको कार्यालयमा बैठक सुरु भएको हो ।

गत मंसिर ४ को निर्वाचनपछि प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते बसेको थियो । तर संसदीय समितिहरू क्रियाशील थिएनन् । दलहरुबीच समितिको भागबण्डा नमिले कारण पनि संसदीय समितिहरू निष्क्रिय थिए । त्यसबाट सदनको कामकारबाही पनि प्रभावकारी हुन सकेको थिएन ।

सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश दिन मंगलबार प्रतिनिधि सभाका १० वटै समितिका बैठक राख्न भनेका थिए । सोही अनुसार आज समितिका ज्येष्ठ सदस्यहरूको अध्यक्षतामा संसदीय समितिहरूको बैठक बसेको छ ।

सार्वजनिक लेखा समितिको बैठकको अध्यक्षता नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गरेका छन् । लेखा समितिको सभापति प्रमुख प्रतिपक्षीलाई दिने प्रचलन अनुसार नेकपा एमालेको भागमा परेको छ । समितिको सभापति चयन नभइसकेकाले पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यको रूपमा केसीले गरेका हुन् ।

प्रतिनिधिसभा मातहत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, पूर्वाधार विकास र सार्वजनिक लेखा समिति छन् ।

समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले सदस्यहरूलाई स्वागत गर्ने, आपसमा परिचय गर्ने र समितिको कार्यक्षेत्रबारे जानकारी गराइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस