सङ्घीयताको विपक्षमा उभिनुपर्ने एमाले नेताहरुको माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सङ्घीयताको विपक्षमा उभिनुपर्ने एमाले नेताहरुको माग


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेमा संघीय प्रणालीमाथिको बहसले औपचारिक प्रवेश पाएको छ । पार्टीको जारी केन्द्रीय समिति बैठकमा दुई केन्द्रीय सदस्यले संघीयतासम्बन्धी पार्टीको नीति पुनरावलोकन गर्नुपर्ने मत अघि सारेका हुन् ।

समूहगत छलफलका क्रममा केन्द्रीय सदस्यद्वय गोकुल बास्कोटा र महेश बस्नेतले संघीय प्रणाली देशहितमा नभएको भन्दै पार्टीले अब नयाँ दृष्टिकोण बनाएर जानुपर्नेमा जोड दिए । दुवै बागमती समूहका सदस्यहरूले राखेको मतलाई समूह नेताले केन्द्रीय समिति बैठकमा पेस गर्ने प्रावधान छ ।

यसअघि सामाजिक सञ्जालमा पनि बारम्बार सङ्घीयता खारेजीको आवाज उठाइरहेका बास्कोटाले पार्टीमा भने पहिलोचोटि जोडदाररुपमा उठाएका हुन् । जनमानसमा नै सङ्घीयताप्रति वितृष्णा उब्जिएकाले पार्टीले अब सङ्घीयताको विपक्षमा आफूलाई उभ्याउनुपर्ने उनले तर्क गरे ।

अर्का नेता बस्नेतले पनि जनभावनालाई बुझेर पार्टीले आफ्नो दृष्टिकोण सच्याउनुपर्ने बेला आएको बताए । सङ्घीयताले देशको व्ययभार बढाएको तर उपलब्धी केही नदिएको उनको भनाइ थियो ।

एमालेमा पछिल्लो समय सङ्घीयता विरोधी अभिमत बलियो बन्दै गइरहेको छ । अनौपचारिक कुराकानीमा थुप्रै नेताहरुले सङ्घीयता नेपालका लागि हितकर नभएको धारणा राख्ने गरेका छन् ।

तर, पार्टीका बैठक वा सार्वजनकिरुपमा भने कमै नेताहरुले मात्रै सङ्घीयताको विरोध गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस