शीर्ष नेताको सम्पत्ति छानबिन गरौँ : मन्त्री गुरुङ « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

शीर्ष नेताको सम्पत्ति छानबिन गरौँ : मन्त्री गुरुङ


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ठूला नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले धेरै पटक पार्टीको केन्द्रीय समितिमा र संसदमा समेत यसबारेमा कुरा उठाइसकेको भन्दै दलका शीर्ष नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने बताए।

उनले विकृति, विसङ्गति, बेथितिले नेताहरूको अनुहार लत्पतिएको भन्दै सबै ठूला नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने तर्क गरे। उनले देश रूपान्तरणका लागि पहिला आफैँ रूपान्तरण हुन जरुरी रहेको बताए।

उनले भने, ‘विकृति, विसङ्गति, बेथितिले हाम्रो अनुहार लत्पतिन थाल्यो, यो दल त्यो दल होइन सबै चुर्लुम्म डुब्यो भनेर केन्द्रीय समितिमा ठूला नेताको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर बहस छेडेको थिएँ । नेपालीलाई पनि भुटानी शरणार्थी बनाइयो, यसमा अनुसन्धान हुनुपर्छ भनेर मैले पहिला भनेको हो । हामी मुलुकको रूपान्तरण खोज्छौँ भने हामीले सबैभन्दा पहिला आफैँ रूपान्तरण हुन आवश्यक छ । भ्रष्ट प्रवृत्तिको अन्त्य हुनैपर्छ । जबसम्म भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिंग, राजनीतिक पार्टी हुँदैन भन्ने मान्यताका साथ कारबाही गर्दैनौँ, तबसम्म भइरहन्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस