काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताएका छन् ।
त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सूत्रपात गर्न नसकिने उल्लेख गर्दै भने, ‘त्यसमा पनि तपाईँहरूको हिजोको जस्तो साथ सहयोग आवश्यक छ। म तपाईँहरूसँग अपिल गर्न चाहन्छु।’
आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्त्व दिएको उनले बताए। ‘अन्यायमा परेकालाई न्याय चाहियो। समानता चाहियो। तिनीहरूलाई पनि अधिकार चाहियो। सामाजिक न्याय भनेको त्यही हो,’ प्रचण्डले भने,‘सुशासन भनेको हाम्रो देशमा विसङ्गति, विकृति र भ्रष्टाचारले विकराल रूप लिएको छ। जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन्।’
जनता सबैको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबका ५ वर्षमा एउटा रेकर्ड बनाउने उनले विश्वास व्यक्त गरे।