मुख्यमन्त्री अधिकारीद्वारा सम्पत्ति विवरण सार्वजनिक  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मुख्यमन्त्री अधिकारीद्वारा सम्पत्ति विवरण सार्वजनिक 


८ बैशाख २०८०, शुक्रबार


काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नियम छ । पुस २५ मा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले सम्पत्ति सार्वजनिक नगरेकोप्रति प्रश्न उठेपछि  शुक्रबार विवरण सार्वजनिक गरेका हुन् ।

पोखरा-३१ बेगनासमा जन्मिएका मुख्यमन्त्री अधिकारीको पुर्ख्यौली घरजग्गा, बैंक ब्यालेन्स, गाडीसहित कृषिमा पनि लगानी गरेको देखिएको छ । मुख्यमन्त्री अधिकारीसँग पोखरा-१२ शान्ति टोलमा ८० लाख किनेको अहिले २ करोड रुपैयाँ पर्ने ६ आना जग्गामा घर, श्रीमतीको नाममा जग्गा, रिसोर्ट,  पुर्ख्यौली जन्मस्थान बेगनासमा जग्गा रहेको बताएका छन् । 

अंशबण्डामा प्राप्त भएको खुलाएका अधिकारीले कित्ता र क्षेत्रफल अलमल हुने गरी विवरण पेस गरेका छन् ।

पोखरा-२१ मा देखाएको जग्गा वर्गमिटरमा पेस गरेका मुख्यमन्त्रीले कित्तासमेत खुलाएका छैनन् ।

स्वआर्जनका रूपमा १५ लाख रुपैयाँ,अंशबण्डाबाट ३ तोला सुन, विभिन्न बैंक तथा वित्तीय संस्थामा १० लाख रुपैयाँ मौज्दात, कृषि आम्दानीबाट गण्डकी विकास बैंकमा २ लाख ४९ हजार ७ बराबरको सेयर देखाएका छन् ।

मुख्यमन्त्री अधिकारीले विभिन्न व्यक्तिसँग ३५ लाख ऋण लिएर १० लाख रुपैयाँ तिरेको पनि बताएका छन् । खगराजसँग ५० लाख रुपैयाँको स्कोरपियो छ । आइ ट्वान्टी कार आफ्नै स्वकीय सचिव केदार थपलियालाई बेचेर स्कोरपियो किनेको मुख्यमन्त्री अधिकारीले खुलाएका छन् ।

मुख्यमन्त्री अधिकारीले कृषि फसल बिक्री गरेर मात्रै वार्षिक ६ लाख रुपैयाँ आम्दानी हुने बताएका छन् । मुख्यमन्त्री अधिकारी पत्नी पाण्डेले काठमाडौँको चन्द्रागिरीमा प्रमुख बैंकबाट ८० लाख रुपैयाँ ऋण लिएर घडेरी खरिद गरेको अधिकारीले विवरणमा खुलाएका छन् । अग्रगामी कृषि फर्ममा साढे १६ लाख श्रीमती पाण्डेको नाममा छ । चितवन फिस रिसोर्टमा २० लगानी गरेको मुख्यमन्त्री अधिकारीले बताएका छन् ।

अधिकारीले श्रीमती रमा पाण्डे प्रावि दरबन्दीको शिक्षक भएका बताएका छन् । मुख्यमन्त्री अधिकारीले सम्पत्ति वितरण सार्वजनिक गरे पनि अरु मन्त्रीहरूले पनि अझै गरेका छैनन् । मुख्यमन्त्री अधिकारीले ९ गते विश्वासको मत लिँदै छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस