काठमाडौँ । विराटनगर महानगरपालिकाले अव्यवस्थित रूपमा खुला गरी माछामासु बिक्री-वितरणमा रोक लगाउने भएको छ।
महानगरलाई सफा र स्वच्छ बनाउने क्रममा अव्यवस्थित रूपमा हुने माछामासुको बिक्री वितरणलाई व्यवस्थित गर्न लागिएको हो।
पशु वधशाला तथा मासु जाँच ऐन-२०५५ ले खुला रूपमा पशुपक्षीलाई बध गर्न र बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको महानगरले जनाएको छ।
महानगरको सरसफाइ, फुटपाथ नियन्त्रण, राजस्व सङ्कलन, नो पार्किङलगायत अभियान जारी राखेको छ। महानगरले वैशाख १५ गतेबाट लागू हुनेगरी सार्वजनिकस्थल, खुला स्थान, तोकिएको स्थान र क्षेत्रका साथै व्यवस्थित पसलबाहेक पशुपक्षी बध गर्न निषेध गर्ने जनाएको छ।