काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग घुस मागेको बारेमा भोलि निर्णय लिने बताएका छन् ।
श्रेष्ठले व्यवसायी प्रसाईँसँग मन्त्री हुनका लागि दुई करोड माग गरेको अडियो आइतबार सार्वजनिक भएको थियो । त्यसपछि रास्वपाले ७२ घण्टाभित्र श्रेष्ठबारे निर्णय लिने जनाएको थियो ।
केन्द्रीय समितिको बैठक बोलाएर भोलि निर्णय गर्ने रास्वपा सभापति लामिछानेले बताए । चितवनमा भएको चुनावी सभामा उनले भने, ‘केन्द्रीय समितिको बैठकका लागि भोलि तयारी रहन मैले साथीहरूलाई भनिसकेको छु । तपाईँहरू चितवन आउनुपर्ने पनि हुनसक्छ । म काठमाडौँ पनि आउनुपर्ने हुनसक्छ ।’
अडियोमा उल्लेख भएका व्यक्तिहरू आफू वरपरका भए पनि उनीहरूलाई कारबाही गरिने उनले प्रतिबद्धता व्यक्त गरे । अडियोमा मन्त्री बन्नका लागि रविको कोर टिमका सदस्यबाट रकम मागिएकाले आफूलाई सहयोग गर्न श्रेष्ठले प्रसाईँलाई आग्रह गरेका छन् ।
आफ्ना साथीहरूमा पूर्ण विश्वास रहेको उल्लेख गर्दै लामिछानेले उनीहरूको बैंक खाता चेक गर्ने समेत बताए ।