काँग्रेसका विद्रोही नेता उपनिर्वाचनमा पार्टीको पक्षमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेसका विद्रोही नेता उपनिर्वाचनमा पार्टीको पक्षमा


२५ चैत्र २०७९, शनिबार


चितवन । निर्वाचनमा पार्टीबाट विद्रोह गरेका नेपाली काँग्रेसका नेताहरुले उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउन आह्वान गरेको छ । उनीहरूले एक अपिल प्रकाशित गरी काँग्रेसको रुख चिन्हवाहक उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका हुन् ।

विगतको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सघाएर पार्टीबाट विद्रोह गरेका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, गठबन्धनका विरुद्ध एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका पार्टीका केन्द्रीय सदस्य दिनेश कोइराला, पूर्व सांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेलले संयुक्त अपिल जारी गरेका हुन् ।

‘नेपालको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक परिस्थिति निरन्तर जटिल बन्दै गइरहेको र मुलुक समस्यामा हुँदा त्यसको निकास नेपाली काँग्रेसले मात्र दिन सक्छ भन्ने तथ्य विगतदेखि वर्तमानसम्मको इतिहासले पुष्टि गरिसकेको छ’, जारी अपिलमा भनिएको छ ।

काँग्रेस कमजोर भयो भने देश समस्यामा फस्छ भन्ने फेरि पनि समयले प्रमाणित गरिसकेको भन्दै अपिलमा भनिएको छ, ‘मुलुकका गम्भीर समस्याको समाधानका लागि काँग्रेसमा समग्र एकता हुन आवश्यक छ ।’

उनीहरूलगायत विगतको निर्वाचनमा विद्रोह गरेका प्रायः सबै पार्टीमा एक ढिक्का भएका छन् । यसअघिको आम निर्वाचनमा विद्रोह गरेपछि पार्टीले कारबाही गरे पनि आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सबै नेताहरू एक मत देखिएको छ ।

चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा काँग्रेसबाट पूर्व सभापति जीतनारायण श्रेष्ठ उम्मेदवार छन् । काँग्रेस कमजोर हुँदा देश समस्यामा फस्छ भन्ने प्रमाणित भएको दाबी गर्दै उनीहरूले आफूहरू काँग्रेसका उम्मेदवारका पक्षमा उभिएको बताएका छन् । उनीहरूले विद्रोहका क्रममा सहयोग गर्नेहरूप्रति आभार प्रकट गर्दै पुनः काँग्रेस उम्मेदवारलाई जिताउन एक ढिक्का हुन अपिल गरेका हुन् ।

पार्टीको केन्द्रीय समितिले तत्कालीन सभापति सुशील कोइरालासँग चितवनमा बागी उम्मेदवार बनेपछि कारबाहीमा परेका पूर्व जिल्ला सभापति विकास कोइरालाको कारबाहीसमेत फुकुवा गरेको छ । यससँगै कोइराला पनि पार्टीका उम्मेदवार जिताउन लागि परेका छन् ।

जिल्ला सभापति राजेश्वर खनालले यसअघिका निर्वाचनमा विद्रोह गरेर विभिन्न ठाउँमा उभिएको अहिलेको निर्वाचनमा सबै एक ठाउँमा उभिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस