वैदेशिक श्रमिकको दुःखपूर्ण यात्रा ‘श्रमाटन’ अङ्ग्रेजीमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

वैदेशिक श्रमिकको दुःखपूर्ण यात्रा ‘श्रमाटन’ अङ्ग्रेजीमा


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । निराला पब्लिकेसन्सले नेपाली लेखक बीएन जोशीको ‘श्रमाटनः नेपाली आप्रवासी कामदारको सम्झना’ कृति अङ्ग्रेजी भाषामा बजारमा ल्याएको छ ।

यसमा नेपालीले गर्ने वैदेशिक श्रमको कष्टकर र दुःखपूर्ण संसारको यात्राबारे विवरण प्रस्तुत गरिएको छ । साहित्यकार अरुण बुढाथोकीद्वारा अनूदित कृति मूल लेखक जोशीको स्मरण पनि हो ।

त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरेका लेखकले नियमित रूपमा युवा र श्रम आप्रवासनका विषय उठाइरहेका छन् र उनका नेपालका राष्ट्रिय पत्रपत्रिकामा लेख रचना प्रकाशन भइरहेका छन् ।

जोशी विभिन्न देशमा वैदेशिक रोजगारीको कठोर यथार्थ अनुभव गरेपछि पुस्तक लेख्न प्रेरित भएका हुन् । निजी व्यापार कम्पनी तमसका कार्यकारी निर्देशक जोशीको यसअघि ‘मोडर्न बेली’ (आधुनिक बेली) शीर्षक उपन्यास प्रकाशन भइसकेको छ ।
पब्लिकेसन्सका नेपाल प्रतिनिधि युयुत्सु आर डी शर्माले कृति लेखकको उत्तेजनापूर्ण जीवित अनुभव रहेको र यसलाई पढेपछि पाठक पनि राम्रोसँग निदाउन नसक्ने विचार व्यक्त गरे । उनका अनुसार प्रस्तुत अनूदित कृतिमा मूल कृतिको मौलिकता, जीवन्तता र शक्ति कायमै छ । क्यानडामा बसोबास गर्दै आएका पत्रकार एवं अनुवादक बुढाथोकीका यसअघि ‘एज’ (किनारा) र प्रिजनर अफ एन आइप्याड (आइप्याडको बन्दी) शीर्षक कविता सङ्ग्रह र ‘सेकेन्ड इन लभ: सर्ट स्टोरिज’ (प्रेममा दोस्रो: कथाहरू’ र ‘गोइङ होम’ (घर जाँदै) शीर्षक दुई कथा सङ्ग्रह प्रकाशन भइसकेका छन् ।

विशेष गरी अन्तर्राष्ट्रिय पत्रपत्रिकामा लेख रचना प्रकाशन गर्दै आएका बुढाथोकी अनूदित कृति नेपाली आप्रवासी कामदारहरूको प्रायः उपेक्षित अनुभवहरूलाई प्रकाश पार्ने काम भएको जानकारी दिए । ‘मैले यो शक्तिशाली पुस्तक महामारीको प्रारम्भिक दिनमा अनुवाद गरेको हुँ, यसमा नेपाली आप्रवासी कामदारहरूले संसारभरि सामना गर्ने अन्याय र चुनौतीका बारेमा विश्वलाई बताउन पाउँदा म खुसी छु ।’

पुस्तक अब अमेजन र निराला पब्लिकेसन्समा पेपर ब्याक ढाँचामा उपलब्ध रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस