मिटरब्याजी पीडितको समस्या समाधन गर्न ध्यानाकर्षण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मिटरब्याजी पीडितको समस्या समाधन गर्न ध्यानाकर्षण


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । सांसदहरुले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसद जगप्रसाद शर्माले मिटरब्याजी पीडितको समस्या समाधानका लागि सरकारले आवश्यक कानुन बनाउने कार्य स्वागत योग्य रहेको भन्दै पीडितहरुसँग तत्काल वार्ता गरी समाधान खोज्न आग्रह गरे ।

सरकारले मिटरब्याजलाई अपराध मान्दै कानुनी दायरामा ल्याउन मुलुकी अपराधसंहिता,२०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ ।

यस्तै सांसद तारामान स्वाँरले गत कात्तिक २२ देखि सुदूरपश्चिममा निरन्तर भूकम्प गइरहेको, कैयौँको ज्यान जानुका साथै घर चर्किएर, भत्किएर बस्न नसक्ने अवस्थामा रहेको भन्दै त्रसित अवस्थामा रहेका नागरिकको सुरक्षा र राहत उपलब्ध गराउन सरकारसमक्ष माग गरे । उनले भूकम्पको उच्च जोखिममा रहेको क्षेत्रको पहिचान गरी वैकल्पिक बसोबासको व्यवस्था मिलाउन पनि आग्रह गरे ।

सांसद तुलसाकुमारी दाहालले भूकम्पबाट क्षति पुगेको नेपाल राष्ट्रिय पुस्तकालयको संरचना हाल पुरानो ठिमीमा व्यवस्थापन गरिएको र त्यहाँ रहेका बहुमूल्य पुस्तक धमिरा लागेको र कुहिएको पुस्तकको संरक्षण गर्न माग गरिन् ।

उनले पुस्तकालयका एक लाख ५० हजार बढी सामग्रीको संरक्षणमा सरकारले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस