‘सङ्घीय निजामती सेवा ऐन अघि बढी सक्यो’-मन्त्री मोदी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘सङ्घीय निजामती सेवा ऐन अघि बढी सक्यो’-मन्त्री मोदी


१४ चैत्र २०७९, मंगलबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको प्रक्रिया अघि बढिसकेको बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विभागीय समितिको अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले धेरै वर्षदेखि संघीय निजामती ऐन आउन नसकेको र त्यसलाई आफूले पदभार ग्रहणको दिन नै संघीय निजामती ऐन ल्याउँछु भनेको बताए । अहिले सहमतिका लागि कानुन र अर्थमा गइसकेको उनको भनाइ छ।

मन्त्री मोदीले यही संसद्को जारी अधिवेशनमा नै ऐन टेबुल गर्ने तयारी रहेको बताए । उनले सेवाग्राहीले प्रश्न उठाउन नपर्ने गरी सेवा प्रवाह दिन समेत कर्मचारीहरूलाई निर्देशन दिएका छन् । जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गरेपछि मात्रै राजनीतिमा लाग्न उनले कर्मचारीलाई निर्देशन दिए ।

मन्त्री मोदीले ऐनमा सबैका भावना र सुझावलाई समेट्ने उद्देश्यले सरोकारवाला पक्षसँग छलफल गरेको बताउँदै भने, ‘सबैका सुझाव, सल्लाह लिएर सबैका भावना समेटेर ऐन ल्याउनुपर्छ भन्ने हिसाबले मैले सबै सरोकारवालासँग छलफल पनि गरेँ, अहिले ऐन अगाडि बढिसकेको छ ।’

उनले आफू मन्त्री भएपछि कुनै पनि स्थानीय तहलाई निमित्त कार्यकारी अधिकृत दिने निर्णय नगरेको बताए । ‘अहिले जहाँ जहाँ निमित्त छन्, उनीहरूलाई पनि हामी हटाइरहेका छौँ,’ उनले भने।

सुशासन कायम गर्ने विषय नै आफ्नो मुख्य प्राथमिकताको विषय भएको उनको भनाइ छ । मन्त्री मोदिले निमित्तमार्फत स्थानीय तहको कामकाज गर्ने प्रवृत्तिलाई अन्त्य गरेर आफूले सुशासनको सुरुवात गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस