मिटरब्याज पीडितको समस्या समाधानका लागि पहल गर्ने रविको प्रतिबद्धता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मिटरब्याज पीडितको समस्या समाधानका लागि पहल गर्ने रविको प्रतिबद्धता


१४ चैत्र २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिटरब्याज पीडितको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार बिहानै टंगालमा मिटरब्याज पीडितहरूको धर्ना कार्यक्रममा सहभागी भएका लामिछानेले उनीहरूको समस्या समाधानको पहल गर्ने बताएका हुन् ।

‘म यहाँ धर्नामा ऐक्यबद्धता जनाउन आएको होइन, समस्या समाधानको पहल गर्ने बाचा गर्न आएको हुँ’, लामिछानेले भने,’आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता हुँदैछ । त्यहाँ मेरा कुरा राख्नुभन्दा पहिला तपाईँहरूको समस्याका बारेमा जानकारी गराउँछु’

लामिछानेले मिटर ब्याज पीडितको समस्या कानुनी उपचारबाट सम्भव नरहेको पनि बताए । साहुहरूले अनेक किसिमका झुटा कागजपत्र तयार गरेकोले पीडितले अदालतबाट न्याय पाउन नसक्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढेका पीडितहरूलाई त्यसतर्फ जानबाट प्रहरीले रोकेपछि उनीहरूले टंगालमै सडक क्षेत्रमा बसेर न्याय माग्दै नाराबाजी गरेका छन् ।

१२ दिन हिँडेर सोमबार काठमाडौँ आइपुगेका मिटरव्याज पीडितहरू रातभर सडकमै बस्न बाध्य भएका छन् । सोमबार काठमाडौँ महानगरले खुलामञ्चको गेटमा ताला लगाएपछि उनीहरूले सडक पेटीमै रात बिताएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस