परिचय:
रोजगारीको सिलसिलामा अधिकांश लागि नेपालीहरू आप्रवासमा जाने गरेको देखिन्छ । आय आर्जनका लागि नेपाल सरकारबाट श्रम स्वीकृति लिई आफ्नो देशभन्दा बाहिर अन्य देशमा गएर शारीरिक अथवा मानसिक श्रम गर्ने कार्यलाई वैदेशिक रोजगारी भनिन्छ । आप्रवासी कामदार भन्नाले वैदेशिक रोजगारीका लागि विदेश जाने प्रक्रियामा रहेको, श्रम स्वीकृति लिई विदेशमा काम गरिरहेको र विदेशमा काम गरी स्वदेश फर्किएको व्यक्ति सम्झनु पर्छ । रिटर्नी कामदार भनेको वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका नेपाली नागरिकलाई बुझिन्छ ।
वैदेशिक रोजगारबाट फिर्ता आउने कनै पनि व्यक्तिलाई घरपरिवार वा समाजमा एकीकृत गर्ने कार्य वा प्रक्रिया पुनः एकीकरण हो । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले वैदेशिक रोजगारीका क्रममा आर्जन गरेको पुँजी, सीप, प्रविधि र अनुभवलाई उद्यमशीलताको विकास तथा सीपको प्रवर्द्धनमा उपयोग गराई सामाजिक तथा आर्थिक रूपमा पुनः स्थापना गर्ने कार्य नै पुनः एकीकरण हो । पुनः एकीकरण भन्नाले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई समाजमा अन्तर घुलन गराउन वा पुनः स्थापना गर्न आर्थिक, सामाजिक र मनोसामाजिक रूपमा सक्षम बनाई जीवन, जीविकोपार्जन र मर्यादित काम प्राप्त गर्न सहयोग गर्ने प्रक्रियालाई बुझिन्छ ।
पुनः एकीकरण सम्बन्धी नीतिगत व्यवस्था
नेपालको संविधान, २०७२ को धारा ५१ (राज्यका नीतिहरू) को (झ) (६) मा वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने संवैधानिक व्यवस्था रहेको छ । वैदेशिक रोजगार नीति, २०६८ मा वैदेशिक रोजगारीबाट फर्की आएका कामदारहरूको सीप तथा बचतलाई उद्यमशीलता प्रवर्द्धनमा परिचालन गरी देश विकास तथा गरिबी निवारण गरिनेछ, फर्किआउने कामदारहरूको लागि प्रभावकारी आर्थिक तथा सामाजिक पुनः एकीकरण प्याकेज सञ्चालन गरिनेछ र अनुभवलाई अभिमुखीकरण, सीप परीक्षणमा उपयोग गरिनेछ भने नीतिगत व्यवस्था रहेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ ‘थ’ मा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको सामाजिक पुनः एकीकरण तथा वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उद्यमशीलताको उपयोग गर्ने अधिकार स्थानीय तहलाई सुनिश्चित गरिएको छ । १५ औँ योजनाले आप्रवासनबाट मौद्रिक विप्रेषण मात्र नभई फर्कने आप्रवासीहरूको सामाजिक आर्थिक विकासका लागि सामाजिक पुँजीको रूपमा सीप, प्रविधि र अनुभवलाई उपयोग गर्नु पर्नेमा जोड दिएको छ । ग्लोबल कम्प्याक्ट फर सेफ, अडर्ली एन्ड रेगुलर माइग्रेसन, २०१८ को उद्देश्य नं. २१ मा आप्रवासी कामदारहरूलाई सम्मानजनक फिर्ती, सुरक्षित स्वदेश फिर्ता र दिगो पुनः एकीकरणमा सहजीकरण गर्न प्रतिबद्ध रहने उल्लेख छ ।
आप्रवासको अवस्था:
वैदेशिक रोजगारी र शिक्षाको लागि आप्रवासन नेपाली समाजको अभिन्न अङ्ग बनेको अवस्था छ । देशमा रोजगारीको अवसरको अभाव रहेको कारण वैदेशिक रोजगारीमा जान बाध्य हुने गरेको छ । वैदेशिक रोजगारीका लागि ठुलो सङ्ख्यामा नेपालीहरू आप्रवासमा रहेका छन् । दैनिक करिब १५०० व्यक्ति वैदेशिक रोजगारीमा जाने गरेको तथ्याङ्कले देखाउँछ । औसतमा ६० प्रतिशतभन्दा बढी घरधुरीबाट कोही न कोही वैदेशिक रोजगारीमा रहेको देखिन्छ । लगभग आधा मिलियन मानिसहरूले प्रत्येक वर्ष श्रम स्वीकृति लिने गरेको तथ्याङ्कले देखाउँछ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार २१ लाख व्यक्तिहरू नेपालको परिवारबाट अनुपस्थित रहेका छन् । जुन कुल जनसङ्ख्याको ७.४ प्रतिशत रहेको छ ।
आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार २०७८ फागुनसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने कुल कामदारहरूको सङ्ख्या ५६ लाख ६५ हजार २ सय २६ पुगेको छ । विश्व आप्रवास प्रतिवेदन, २०२२ अनुसार विश्वको कुल जनसङ्ख्याको ३.६ प्रतिशत जनसङ्ख्या आप्रवासमा रहेका छन् । नेपाल श्रम आप्रवासन प्रतिवेदन, २०२२ अनुसार सन् २०२१/२२ सम्म नेपाली नागरिक रोजगारीका लागि १५० देशमा गएका छन् । सन् २०२०/२१ मा १८३८७५ र सन् २०२१/२२ मा ४५०८९७ आप्रवासी श्रमिकहरू नेपाल फिर्ता आएको देखिन्छ । वैदेशिक रोजगारीबाट फर्किने कामदारको सङ्ख्या सबैभन्दा बढी मधेस प्रदेशमा छ । नेपाल श्रम शक्ति सर्वेक्षण, २०७४ अनुसार फर्केका आप्रवासी कामदारहरू मध्ये ४२.८ प्रतिशत रोजगारीमा रहेका छन्, १३.४ प्रतिशत बेरोजगार छन् र ४३.८ प्रतिशत श्रम शक्ति बाहिर रहेका । फर्किएका आप्रवासी कामदारहरू मध्ये आधाभन्दा कम मात्रै रोजगारीमा संलग्न भएको र बाँकीले पुनः आप्रवासनमा गएको वा जाने योजना बनाएको देखिन्छ ।
चुनौतीहरू
फिर्ता आउने आप्रवासीहरूको पुनः एकीकरण कार्य एकदम जटिल विषय हो । वैदेशिक रोजगारीबाट फर्किएकाहरूको पुनः एकीकरण कार्य चुनौतीपूर्ण बन्दै गएको छ । हालका वर्षहरूमा यससँग सम्बन्धित धेरै चुनौतीहरू देखिन थालेको छ । सामाजिक सहयोगको कमी, अत्यावश्यक स्रोत र सेवाहरूमा पहुँच कायम नहुनु, समुदायको प्रतिरोध, शिक्षाको कमी र पर्याप्त रोजगारीको अभाव आदि पुनः एकीकरणका मुख्य चुनौतीहरू रहेका छन् ।
पुनः एकीकरणका आयाम
पुनः एकीकरणका तीन वटा आयामहरू रहेका छन् ।
(क) आर्थिक आयाम: यसले फिर्ता हुने आप्रवासीहरूलाई उनीहरूको आर्थिक आत्मनिर्भरता स्थापना गर्न मद्दत गर्दछ । यसले त्यस्तो पक्षहरूलाई समेट्ने कार्य गर्दछ जसले अर्थतन्त्र (आर्थिक जीवन) र दिगो जीविकोपार्जनमा पुनः प्रवेश गर्नमा योगदान गर्दछ ।
(ख) सामाजिक आयाम: यसले फिर्ता हुने आप्रवासीहरूलाई सार्वजनिक सेवा र पूर्वाधारहरूको साथै स्वास्थ्य, शिक्षा, आवास, न्याय र सामाजिक सुरक्षाका अन्य योजनाहरूमा समेत पहुँचको सम्बोधन गर्ने गर्दछ ।
(ग) मनोसामाजिक आयाम: यसले फिर्ता आउने आप्रवासीहरूलाई व्यक्तिगत सहायताका सञ्जालहरू (जस्तै: साथीभाइ, आफन्त, छिमेकी) र नागरिक समाजका संरचनाहरूमा पुनः सम्मिलन गर्ने कार्य गर्दछ । यसले मूल देश तथा समाजको मूल्य मान्यता, जीवनशैली, भाषा, नैतिक सिद्धान्त र परम्पराहरूमा पुनः संलग्नता हुने काम गर्दछ ।
पुनः एकीकरणको एकीकृत दृष्टिकोण
(क) व्यक्तिगत स्तर: यसमा फर्किने आप्रवासीहरूको विशेष आवश्यकता र कमजोरीहरूलाई सम्बोधन गर्न परिवारका सदस्यहरूसङ आवश्यक पहल गर्नु पर्दछ । फिर्ता हुने आप्रवासीहरू तथा तिनीहरूका परिवारलाई सिधै व्यक्तिगत सहायताको रूपमा नगद सहयोग, जिन्सी सहयोग वा दुइटै प्रदान गरिनु पर्छ । यस्तो व्यक्तिगत सहायताले फर्किने आप्रवासीहरूलाई सशक्त बनाउँछ र उनीहरूले पुनः एकीकरणको लागि जिम्मेवारी लिन सक्ने वातावरण सिर्जना गर्छ ।
(ख) सामुदायिक स्तर: यसले आप्रवासीहरूको आवश्यकता, कमजोरी र सरोकारवालाहरूलाई आप्रवासी फर्कने परिवार, समुदाय र गैर-आप्रवासी जनसङ्ख्यासँग आवश्यक पहलहरू गर्दछ । आप्रवासीहरूको पुनः एकीकरणमा समुदायको भूमिका पनि महत्त्वपूर्ण हुन्छ । समुदायले खेल्ने भूमिका पनि धेरै हुन सक्छ । आप्रवासी कामदारहरूले आर्थिक, सामाजिक, मानवीय र सांस्कृतिक पुँजी लिएर फर्किने गर्छन् । समुदायले पुनः एकीकरणको लागि अनुकूल वातावरण तयार जस्तै: सुरक्षा सञ्जाल, सामाजिक सञ्जाल, मनोसामाजिक सहयोग र वित्तीय स्रोतहरूमा सहज पहुँचको लागि आवश्यक सहयोग र समर्थन गर्नु पर्दछ । जब समुदायले आप्रवासीहरू फिर्ता भएको कुरालाई सकारात्मक रूपमा बुझ्छन्, यसले आप्रवासीहरूको सामाजिक सम्बन्ध पुनः स्थापित गर्न र समाजमा कलङ्कित हुने जोखिमलाई कम गर्छ । पुनः एकीकरण प्रक्रियामा आप्रवासीहरू मार्फत पनि समुदायलाई फाइदा हुन्छ जस्तै उनीहरूमा भएको सीप, पुँजी, प्रविधि र अनुभवले समाजलाई सकारात्मक योगदान गर्छ ।
(ग) संरचनात्मक स्तर: यसले स्थानीय, प्रदेश र सङ्घीय सरकारहरूले आप्रवासी कामदारहरूको पुनः एकीकरणलाई सम्बोधन गर्ने खालको आवश्यक नीति तथा कानुनहरू तर्जुमा गरी फर्केका आप्रवासी कामदार र उनका परिवारका सदस्यहरूको आवश्यकता, क्षमतालाई दृष्टिगत गरी सार्वजनिक सेवाहरू मार्फत निरन्तर सहायता प्रदान गर्नु पर्दछ । स्थानीय सरकारले स्वदेश फर्केका आप्रवासी र तिनका परिवारलाई उनीहरूको सामाजिक तथा आर्थिक विप्रेषण उत्पादनशील क्षेत्रमा उपयोग गर्ने क्रियाकलापहरू सञ्चालन गर्न प्रोत्साहित गर्नुपर्छ । पुनः एकीकरण व्यवस्थापनमा फर्किएका आप्रवासीहरूको सहभागिता सुनिश्चित गर्न स्थानीय सरकारहरूलाई सक्षम बनाउनुपर्छ ।
पुनः एकीकरण बहु आयामिक प्रक्रियाको रूपमा रहेको छ । दिगो रूपमा पुनः एकीकरण गर्नको लागि उपलब्ध सेवा तथा सहायताहरूको बारेमा फर्कने आप्रवासीहरू र तिनीहरूका परिवारहरूलाई थप सचेतनाको आवश्यकता रहेको देखिन्छ । पुनः एकीकरण पूर्व फिर्ता आउने आप्रवासीहरूको घरपरिवार तथा समुदाय वरिपरिको वातावरणको अवस्था बुझ्न प्रारम्भिक मूल्याङ्कन र विश्लेषणहरू गर्न महत्त्वपूर्ण हुन्छ । स्थानीय, प्रादेशिक, सङ्घीय र अन्तर्राष्ट्रिय स्तरका राजनीतिक, संस्थागत, आर्थिक अवस्था र सामाजिक सुरक्षाका अवस्थाहरूले सरोकारवालाहरूलाई दिगो रूपमा पुनः एकीकरणको लागि उपयुक्त सहायता एवं मद्दत गर्न सक्ने अवस्था विकास गर्नु पर्छ ।
लामो समय देश बाहिर रही फर्केका आप्रवासीहरू आर्थिक, सामाजिक र मनोसामाजिक कारकहरूले गर्दा घरपरिवार, समाज तथा समुदायमा अन्तर घुलन एवं पुनर्मिलन गर्न सङ्घर्षरत हुनु पर्ने अवस्था हुन सक्छ । उमेर, लिङ्ग, जातीय र सांस्कृतिक पहिचान, धार्मिक पहिचान, स्वास्थ्य र कल्याण, सीप र ज्ञान, पारिवारिक स्थिति, असक्षमता/अशक्तता, यौन अभिमुखीकरण, सामाजिक सञ्जालहरू, प्रेरणा, आत्म-पहिचान, व्यक्तिगत सुरक्षा, आर्थिक अवस्था, मनोवैज्ञानिक विशेषताहरू (भावनात्मक र संज्ञानात्मक व्यवहार) र विदेशमा बिताएको समय आदि व्यक्तिगत स्तरमा पुनः एकीकरणलाई असर गर्ने कारकहरू हुन् ।
वैदेशिक रोजगारीबाट फर्किने कामदारहरूको दिगो, प्रभावकारी एवं सफल पुनः एकीकरणका लागि निम्न पहलहरू आवश्यक हुने देखिन्छ ।
§ वैदेशिक रोजगारीमा पठाउने देशले आफ्ना नागरिकको सुरक्षित र सम्मानजनक फिर्ता हुने अवस्था सुनिश्चित गर्न गन्तव्य देशहरूसँग सम्झौता र सहकार्य गर्ने ।
§ गन्तव्य देशमा श्रम सहचारी र कन्सुलरहरूले सुरक्षित र सम्मानजनक फिर्ता बारे आप्रवासी कामदारहरूलाई आवश्यक सल्लाह सुझाव प्रदान गर्ने ।
§ रोजगारदाताले आप्रवासी कामदारको रोजगारीको म्याद सकिएपछि रोजगारीका आधारमा फर्किने यात्रामा सहजीकरण हुने गरी गन्तव्य देशको नियम कानुनहरूमा स्पष्ट व्यवस्था मिलाउने ।
§ वैदेशिक रोजगारीबाट फर्किने आप्रवासी कामदारहरूलाई मूल देश र समुदाय स्तरमा पुनः एकीकरण हुने खालका पर्याप्त सेवाहरू उपलब्ध गराउने ।
§ वैदेशिक रोजगारीबाट फर्किने आप्रवासी कामदारहरू फर्किए पछि सहायताको पहुँचलाई सहज बनाउन सङ्घीय, प्रादेशिक तथा स्थानीय सरकारहरूले आवश्यक नीतिगत तथा कार्यगत सेवाहरू प्रदान गर्नु पर्ने ।
निश्कर्षः
नेपालको आर्थिक र सामाजिक परिदृश्यको एक महत्त्वपूर्ण पाटोको रूपमा श्रम आप्रवासन रहेको छ । वैदेशिक रोजगारबाट प्राप्त हुने विप्रेषण, विदेशमा आर्जित सीप र विश्व परिवेश बुझ्ने अवसर प्राप्त हुनुका साथै नेपाली अर्थ व्यवस्थामा पुर्याएको महत्त्वपूर्ण सकारात्मक योगदानहरू पनि छन् । वैदेशिक रोजगारबाट फर्केका आप्रवासी कामदारहरूलाई घरपरिवार, समाज तथा देशमा पुनः समावेशीकरण गरी आर्थिक, सामाजिक र मनोसामाजिक सम्बन्धहरूको पुनः स्थापना गर्नु नै हो । पुनः एकीकरणको अर्को महत्त्वपूर्ण पक्ष फिर्ता आउने आप्रवासीहरूका लागि अनुकूल वातावरण सिर्जना गर्न स्थानीय स्रोत साधन र पूर्वाधारहरू मार्फत आप्रवासीहरूलाई आफ्नो अनुभव, ज्ञान, सीप, पुँजी र प्रविधिलाई आफ्नो देशमा लगानी गर्न सक्षम बनाउनु हो । दिगो पुनः एकीकरणको आवश्यकतालाई मध्यनजर गरी वैदेशिक रोजगारीमा गएका आप्रवासी कामदारहरूले आर्जन गरेको सामाजिक तथा आर्थिक पुँजीको सदुपयोग गर्दै राष्ट्रिय अर्थतन्त्रको उत्पादनशील क्षेत्रहरूमा पहुँच सुनिश्चित गर्नु हो । आप्रवासीहरूको आर्थिक आत्मनिर्भरता, समुदाय भित्र सामाजिक स्थिरता र मनोवैज्ञानिक कल्याणमा पहुँच स्थापित भइसकेपछि मात्र पुनः एकीकरण कार्य दिगो हुन्छ ।