मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुई पालिकामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गा नाप जाँच सुरु गरिएको छ ।
जिल्लाको देवचुली नगरपालिका-४ र हुप्सेकोट गाउँपालिका-३ मा जग्गा नाप जाँच थालिएको हो ।
भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबास गर्नेको जग्गा नाप जाँचका लागि सोही वडाबाट नियन्त्रण विन्दु स्थापना गरी वडाका विभिन्न स्थानमा प्राविधिकसहितको टोलीले जमिनको नाप लिइरहेका छन् ।
देवचुली नगरपालिका-४ का बमबहादुर मगरले ५२ वर्षदेखि पुर्जाबिना नै बसे पनि यसपालि भने पुर्जा पाउनेमा आशा बढेको बताए । ‘५२ वर्षदेखि जग्गा दिन्छु, दिन्छु भन्ने धेरै आए, हामीलाई खालि आस मात्र दिएका छन्’, उनले भने, ‘यसपालि जग्गा नाप जाँच सुरु भएकाले पुर्जा पाउनेमा आशा बढेको छ ।’
जग्गाको पुर्जा नहुँदा चाहेको पेसा व्यवसाय गर्न नपाएका स्थानीय यस प्रक्रिया छिटो टुङ्गिए हुन्थ्यो भन्ने आशामा छन् । जमिन भएर पनि व्यवस्थित व्यवसाय गर्न नपाएको हुप्सेकोट गाउँपालिका-३ का रेवती सारुले बताए ।
हुप्सेकोट गाउँपालिका-३ मा भूमिहीन तथा अव्यवस्थित रूपमा बसोबास गरेका स्थानीयको जग्गा नाप जाँच गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले अब छिट्टै लालपुर्जा वितरण गर्ने विश्वास दिलाए ।
वडा नं. २ मा यसअघि नै जग्गा नाप जाँच गरिसकिएको छ भने अहिले वडा नं. ३ मा उक्त काम जारी रहेको अध्यक्ष पाण्डेले बताए ।
हुप्सेकोट गाउँपालिकामा दुई हजार पाँच सय र देवचुली नगरपालिकामा चार हजार चार सय ६० भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित गरी परिवारको बसोबास छ ।