काठमाडौँ । शिक्षा आर्जनका लागि नेपालबाट करिब दुई खर्ब बाहिरिने गरेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष डिके ढुङ्गानाले बताएका छन्।
बुधबार प्याब्सन काभ्रेको जिल्ला भेलामा ढुङ्गानाले गुणस्तरीय शिक्षा आर्जनको नाममा यत्रो रकम बिदेसिने गरेको बताएका हुन्।
गत आर्थिक वर्षमा शिक्षाका लागि एक खर्ब ९६ अर्ब बाहिरिएको उनले बताए। अभिभावकले चाहेमा सो रकम स्वदेशमै खर्च गर्न सक्ने उनको भनाइ छ।
शिक्षाका नाममा बिदेसिने रकम रोक्नका लागि सरकार पनि तयार हुनुपर्ने ढुङ्गानाको भनाइ छ। शिक्षा क्षेत्रमा प्याब्सनको ठूलो योगदान रहेको जिकिर गर्दै उनले निजी तथा आवासीय विद्यालयले देशमा ३१ लाख विद्यार्थीलाई शिक्षा प्रदान गरिरहेको बताए। विद्यार्थीलाई शिक्षासहित प्याब्सनले साढे ३ लाख मानिसलाई रोजगारी पनि दिएको उनले उल्लेख गरे।