काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले विमानस्थल आसपासबाट चरा धपाउन गुहार मागेका छन्।
विमानस्थलमा आइतबार एक कार्यक्रमको आयोजना गरी उनले चराका गतिविधि हटाउन गुहार मागेका हुन्।
विमानस्थलबाट चरा धपाउने नेपाल नागरिक उड्यन प्राधिकरण मात्र नभई सबै निकाय जिम्मेवार हुनुपर्ने उनले जोड दिए।
गौतमले विमानस्थल आसपासका रूख काटेर वा त्यस क्षेत्रमा आउने चरा मारेर समस्याको समाधान नहुने बताए। विमानस्थल आसपास चरा आउन नपर्ने वातावरण बनाउनुपर्ने भन्दै उनले यसका लागि पोखरा महानगरसहित सबै निकाय जिम्मेवार हुनुपर्ने बताए ।
विमानस्थलका एटिएस सुरक्षा व्यवस्थापक दीपक पोख्रेलले जनवरी र फेब्रुअरीमा मात्र चराका कारण १८ वटा घटना भएको बताए। जनवरी १ देखि सञ्चालनमा आएको विमानस्थलमा चराकै कारण यत्तिका घटना हुनु चिन्ताजनक रहेको भन्दै उनले मार्च महिनामा बढेको बताए।
जनवरी र फ्रेब्रुअरीमा मात्र भएका १८ वटा घटनामध्ये बिहानको समयमा ११ वटा, दिनमा ६ वटा र साँझमा एउटा घटना भएका छन्। विमानमा चरा ठोक्किने र विमानस्थलका ल्याण्डिङ र उडान रुटमा यस्ता घटना देखिएको पोखरेलले बताए।
दुई महिनाका अवधिमा चराका कारण भएका १८ घटनामध्ये एप्रोज लाइनमा ७ वटा, उडानका क्रममा ७ वटा, ल्याण्डिङमा २ वटा र विमानको रुटमा २ वटा घटना भएको तथ्याङ्क उनले पेस गरेका थिए।