भैरहवा । सिमेन्ट कारखानामा भएको दुर्घटनामा जलेर मृत्यु भएका चार कामदारका परिवारले १०/१० लाख रुपैयाँ क्षतिपूर्ति पाएका छन् ।
रुपन्देहीको सियारी-२ स्थित अर्घाखाँची सिमेन्ट उद्योगमा गत माघ १६ मा भएको घटनामा चार कामदारको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
मृतक कामदारले पाउनुपर्ने बिमाबापतको रकम र सरकारी मापदण्डअनुरूपको सुविधामाथि उद्योगले ३ लाख रुपैयाँ थप गरी प्रतिपरिवारलाई १०/१० लाख रुपैयाँ उपलब्ध गराइएको उद्योगका महाप्रबन्धक उद्धव कार्कीले बताए ।
दुर्घटनामा मृत्यु हुनेमा भारतको उत्तर प्रदेश फतेहपुर जिल्ला ग्रामका ५० वर्षीय जितेन्द्र कुमार, बिहारको गोपालगन्ज ग्रामका २७ वर्षीय शशिकान्त कुमार कुशवाह, समस्तीपुर ग्रामका ४८ वर्षीय श्रीराम सिंह र रुपन्देहीको कोटहीमाई-४ का ३८ वर्षीय अङ्गद हरिजन थिए ।
उद्योगको कोल मिलको ब्याग हाउसमा कोइला अत्यधिक तातेका कारण भएको आगलागीमा कामदार परेका हुन् । भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो ।
घटनामा घाइते भारतको उत्तर प्रदेश महाराजगन्जका ४३ वर्षीय शिवलाल हरिजन र बिहारका ४१ वर्षीय राजकिशोर यादव निको भएर फर्किएका थिए ।