न्यासिम जलविद्युत आयोजनामा आगजनी, कर्मचारीमाथि आक्रमण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

न्यासिम जलविद्युत आयोजनामा आगजनी, कर्मचारीमाथि आक्रमण


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ स्थित सीता हाइड्रोपावर प्रालिले निर्माण गरिरहेको ३५ मेगावाटको न्यासिम खोला जलविद्युत आयोजनाको निर्माण स्थलमा एक समूहले आगजनी र तोडफोड गरेको छ। 

करिब ६० जनाको समूहले फागुन १५ गते कर्मचारीमाथि पनि साङ्घातिक आक्रमण गरेको कम्पनीले जनाएको छ। 

सीता हाइड्रोपावर कम्पनीले उक्त आपराधिक घटनाको घोर भर्त्सना गरेको जनाएको छ। उचित क्षतिपूर्ति लागि सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएको छ। 

यस घटनाको निष्पक्ष छानबिन गरी दोषी उपर कानुनी कारबाही गर्न कम्पनीले माग गरेको छ। घाइते भएका कर्मचारीहरूको सम्पूर्ण उपचार खर्च पीडक पक्षबाटै भराउने व्यवस्था गर्न समेत सरकारसँग माग गरेको छ। 

यो आयोजना २०७७ साल मङ्सिर ८ गते विद्युत् विकास विभागबाट उत्पादन अनुमतिपत्र लिएर २०७८ साल जेठदेखि निर्माण भइरहेको छ। २०८१ साल असार १५ गते व्यापारिक उत्पादन गर्ने लक्ष्य छ। हालसम्म आयोजनाको २५ प्रतिशत काम सकिएको छ।  आयोजना निर्माणमा करिब तीन सय दक्ष तथा अर्धदक्ष श्रमिकले रोजगारी पाएका छन्।

आक्रमणबाट आयोजनाको आवासीय भवन, विद्युत् गृह, सुरुङ लगायतका क्षेत्रमा ठूलो क्षति भएको आयोजनाले बताएको छ। यो घटनामा इन्जिनियरसहित ७ जना घाइते भएका छन्। सो समूहले क्रसरमा आगजनी गर्नुका साथै ट्रिपर, स्काईभेटर समेत तोडफोड गरेको छ। 

आक्रमणबाट करिब १२ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। क्षतिको पुनर्स्थापना गरी आयोजना सुरु गर्न कम्तीमा एक वर्ष लाग्ने र यसको कारणले उत्पादनको वर्ष कम्तीमा एक वर्ष धकेलिने अवस्थाको सिर्जना भएको गुनासो छ। 

Tags :
प्रतिक्रिया दिनुहोस