वैदेशिक रोजगार विभागमा कुटिइन् तारा बराल  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

वैदेशिक रोजगार विभागमा कुटिइन् तारा बराल 


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । वैदेशिक रोजगार विभागमा म्यानपावर व्यवसायी र सामाजिक अभियन्ताबीच कुटाकुट भएको छ । दुई पक्षबीच झडप हुँदा सामाजिक अभियन्ता भनिने तारा बरालसहित केही व्यक्ति घाइते भएका छन् । 

झडपपछि प्रहरीले बरालसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेकी बरालको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बराललगायतको समूह वैदेशिक रोजगारीमा ठगिएका पक्षमा नाराबाजी गर्दै विभागमा पुगेका थिए । त्यही क्रममा मेनवपावर व्यववसायीहरुले उनीहरूमाथि कुटपिट गरेका हुन् । संयौंको संख्यामा विभागमा पुगेका अभियन्ताहरु र म्यानपावर व्यवसायीहरुबीच विवाद भएको थियो । त्यसपछि झडपको अवस्थामा पुगेको हो । 

झडपपछि आफूमाथि निर्घात कुटपिट गरिएको बरालले बताएकी छन् । प्रहरीको उपस्थितिमै बरालमाथि हेलमेटले प्रहार गरेका थिए । त्यही क्रममा उनको टाउकोमा चोट लागेको छ । विभागमा छलफलको क्रममा रहेको बेला पछाडिबाट आएका म्यानपावर व्यवसायीले हट्नु भनेर पछाडिबाट हेल्मेटले हानेको उनीहरूको भनाई छ । 

बाबा म्यानपावरले कम्बोडियो पठाउने भनेर केही व्यक्तिहरूलाई ठगी गरेको आरोप पीडितहरूको छ । विभागमा छलफलपछि म्यानपावर व्यवसायीले पैसा फिर्ता दिने सहमति भएको थियो । तर, तीन महिनादेखि कुरेर बस्दा पनि आफ्नो पैसा फिर्ता नपाएको भन्दै पीडितहरू विभागमा पुगेका थिए । त्यही बेला म्यानपावर व्यवसायी र सामाजिक अभियान्ताहरुबीच विवाद भएको हो । 

विवादको क्रममा म्यानपावर व्यवसायीहरूले बरालसहित युट्युबर तथा पीडितहरूमाथि कुटपिट गरेका थिए । उक्त घटनापछि विभागमा गएर होहल्ला गरेको तथा शान्ति सुरक्षामा खलल पुर्‍याउने काम गरेको भन्दै २ जना महिला र ३ जना पुरुषलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आफ्नो पैसा फिर्ता माग्न भन्दै पीडितहरू विभागमा पुगेका थिए । विभागका महानिर्देशक उमाकान्त आचार्यले नै पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्देशन दिएका थिए । 

तर, म्यानपावर व्यवसायीहरूले पैसा नदिएको भन्दै पीडितहरू पुनः विभागमा पुगेका थिए । विभागमा पुगेका उनीहरूमाथि मेन पावर व्यवसायीहरूले कुटपिट गरेका थिए । कुटपिट गरेको थाहा पाएपछि बरालसहितको टोली विभागमा पुगेको थियो । पीडितहरूलाई साथमा लगेर गएकी बरालले सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै यदि पीडितलाई म्यानपावर व्यवसायीले कुटेको खण्डमा आफूहरूले विभागका हाकिमलाई नै कुट्ने चेतावनी दिएकी थिइन् ।  

त्यही क्रममा म्यानपावर व्यवसायीहरूले युट्बरमाथि कुटपिट गरेका थिए । त्यसपछि बरालमाथि पनि कुटपिट गरेका हुन् । पछिल्लो समय विभागमा दिनदिनै होहल्ला गर्ने, युट्युबरहरुलाई बोलाएर नाराबाजी गर्ने जस्ता क्रियाकलाप हुँदै आएको छ । त्यसपछि विभागको सूचना जारी गरेर पीडितलाई परिचयपत्रको आधारमा मात्र भित्र प्रवेश दिने नीति ल्याएको थियो । तर, जनशक्तिको अभावमा त्यो नीति लागू गर्न नसकिएको विभागले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस