यू-१९ एसिया विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

यू-१९ एसिया विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेपालले आईसीसी यू-१९ एसिया विश्वकप छनोटमा लगातार तेस्रो विजय हात पारेको छ । आकाश त्रिपाठीले अर्धशतक बनाएपछि नेपालले सोमबार हङकङलाई ९ विकेटले पराजित गर्‍यो । 

यूएईको अजमानमा भइरहेको प्रतियोगितामा टस जितेर ब्याटिङ गर्न आएको हङकङ ४६.३ ओभरमा १ सय २० रनमै अलआउट भएपछि जबाफमा आएको नेपालले आकाशको अविजित ६४ रनमा १ सय २६ रन बनाउँदै २२.१ ओभर भित्रै लक्ष्य पूरा गर्‍यो ।

प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जित हो । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८६ र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले पराजित गरेको थियो । ६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता टोली अर्को वर्ष श्रीलङ्कामा हुने आईसीसी यू-१९ विश्वकपमा पुग्ने छ । मलेसिया र युएईविरुद्धको अगामी दुई खेल जितेमा नेपाल राउन्ड रोबिनमा भएको प्रतियोगिता जित्ने छ ।

मालेक क्रिकेट मैदानमा आकाशले ७२ बल खेली ५ चौका र ४ छक्का प्रहार गरे । अकाशले एलियन जाहिरको बलमा छक्का प्रहार गर्दै विजयी रन बटुले । उनले दोस्रो विकेटमा उत्तम थापामगरसँग अविजित ९८ रनको साझेदारी गरे । उत्तम ३९ रन बनाई अविजित रहे । उनले ५० बल खेली ४ चौका प्रहार गरे । अर्जुन कुमालले १६ रन बनाए । अघिल्लो खेलमा शतक बनाएका उनले ३६ बल खेल्दै २ चौका प्रहार गरे ।

यसअघि हङकङबाट पार्थ भागवतले सर्वाधिक ३६ रन बनाएका थिए । उनले ९३ बल खेली ४ चौका प्रहार गरे । एलियन जाहिरले ६७ बलमा ३ चौकासहित २९ रन बनाए । कप्तान अहान त्रिवेदीले ११ रन बनाए ।

नेपालबाट हेमन्त धामीले ३ विकेट लिए । सुवास भण्डारीले १० ओभरमा ३ मेडन राखेर १० रन मात्र खर्चेर २ विकेट लिए । आकाश चन्दले ८.३ ओभरमा ४३ रन खर्चेर २ र दीपेश कँडेलले १ विकेट लिए । दीपेशले १० ओभरमा ३ मेडन राख्दै १७ रन खर्चे । नेपालले हङकङका दुई खेलाडीलाई रन आउट गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस