सिलिगुडीबाट भित्रिएको डिजेलमा मिसावटको आशङ्कामा छानबिन सुरु  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सिलिगुडीबाट भित्रिएको डिजेलमा मिसावटको आशङ्कामा छानबिन सुरु 


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । नेपाल आयल निगमले ८० हजार लिटर डिजेलमा मिसावटको आंशकामा छानबिन थालेको छ ।

झापास्थित चारआली कार्यालयमा भारतको सिलिगुडीबाट आएका चार वटा ट्याङ्करको डिजेलमा घनत्व कम भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको निगमको चारआली कार्यालय प्रमुख भीम विकले बताए ।

‘चार वटा ट्याङ्करमा भारतबाट नेपाल ल्याइएको ८० हजार लिटर डिजेलमा घनत्व कम भएको पाइएको छ,’ विकले भने, ‘अहिले केन्द्रीय कार्यालयबाट आएको टोलीले अनुसन्धान थालेको छ ।’

कार्यालयका अनुसार गत बुधबार भारतीय आयल कर्पोरेसन (आईओसी) को सिलिगुडी डिपोबाट लोड गरिएको मे. १ ख. २१४९, मे. १ ख. २१५१, ना.७ ख. १५०७ र ना. ७ ख. ६९७४ नम्बरको ट्याङ्करको डिजेलमा घनत्व कम भएको पाइएको छ ।

आयल निगमले ८ सय २० देखि ८ सय ५० किलो प्रतिघनमिटर घनत्वलाई मात्रै मान्यता दिन्छ । तर, चारआलीमा भित्रिएको डिजेलमा तल्लो प्यारामिटर भन्दा तल रहेको पाइएको छ ।

डिजेलमा भएको मिसावट के हो भन्नेबारे भने निगमको केन्द्रीय कार्यालयले गठन गरेको प्राविधिक टोलीको छानबिनपछि मात्रै निर्क्योल हुने निगमको प्रदेश एक कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस