काठमाडौँ । पूर्व स्वीकृति नलिई वैदेशिक रोजगारीका लागि दुबई पठाउन खोज्ने म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । बुढानीलकण्ठ नगरपालिका-९ सुकेधारामा रहेको एसियापावर रिक्वइटमेन्ट कन्सल्टेन्ट प्रालिमा विभागले छापा मारेर पासपोर्टसहित आवश्यक कागजात नियन्त्रणमा दिएको हो । कम्पनीले साउदीको अर्चिरोदन कम्पनी अन्तर्गत स्हाजभ परियोजनाका लागि ५४१ जनाको माग आएको भन्दै सामाजिक सञ्जालमार्फत विज्ञापन गरेको थियो । सोही आधारमा दार्चुला, रुकुम, डोल्पा हुम्ला, पाँचथर, इलाम लगायतका जिल्लाहरूबाट अन्तर्वार्ता दिन भनेर कम्पनीमा पुगेका थिए ।
बिहान ४ बजे आएर लाइनमा बसेको र अन्तिममा आएर अन्तर्वार्ता नै नदिएर फर्काइएको भन्दै उनीहरू आक्रोशित बनेका थिए । उक्त परियोजनाको लागि ट्रक ड्राइभर, एक्स्काभेटर अपरेटर, कार्गो क्रेन ट्रक अपरेटर, बुल डोजर अपरेटर, वर्कसप सुपरभाइजर, फोरमेन, इन्जिन मेसिन, हाइड्रोलिक मेसिन, स्टोप किपर लगायतका लागि माग आएको भन्दै अन्तर्वार्ताका लागि बोलाएको थियो । तर, त्यसका लागि लिनुपर्ने पूर्वस्वीकृति नलिएको पाइएपछि विभागले छापा मारेको हो । विभागले छापा मारेर अन्तर्वार्ता रोकेको थियो । अन्तर्वार्ताका लागि दुबईबाट नै सम्बन्धित कम्पनीका प्रतिनिधिहरू समेत आएका थिए ।
विभागले उनीहरूको परिचयपत्रको फोटोकपी लिएर कम्पनीको जिम्मा लगाएको थियो । उनीहरूले अन्तर्वार्ता लिएका १९ जनाको पासपोर्टसहित भरेका फाराम समेत नियन्त्रणमा लिएको हो । पूर्व स्वीकृति नलिई अन्तर्वार्ता लिइरहेको भन्दै विभागमा उजुरी परेको थियो । सोही आधारमा आज बिहान विभागको टोली कम्पनीको कार्यालयमा पुगेको थियो । जहाँ सयौँको संख्यामा मानिसहरू लाइनमा बसिरहेका थिए । भने विदेशी प्रतिनिधिहरूले अन्तर्वार्ता लिइरहेका थिए ।
तर, म्यानपावर कम्पनीले भने आफूले विगतमा लिइएको पूर्व स्वीकृतिको आधारमा कामदार पठाउन लागेको बताएको थियो । जबकि दुई दिनअघि मात्रै फेसबुकमार्फत बुस्ट गरेर उक्त कम्पनीका लागि कामदार आवश्यकता भन्दै सूचना निकालेको थियो । विभागको टोली छापा मार्न पुग्दा कम्पनीले दुई दिन अगाडि राखिएको विज्ञापन हटाएको थियो । तर, यसअघि २३ फेब्रुअरी २०२३ मा गरिएको विज्ञापन भने यथावत नै छ ।
विभागको आँखा छलेर गैर कानूनी कार्य गर्दै अन्तर्वार्ता लिइरहेको भन्दै विभागले आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको छ । विभागका शाखा अधिकृत शम्भुकुमार कटुवालले डिमाण्ड अनुसारका आवश्यक पर्ने कागजात पेस गर्न नसकेको बताए ।
विभागले छापा मारेपछि ८ पदका लागि मात्र कामदार पठाउन लागेको दाबी गर्दै आएको थियो । तर, त्यहाँ लाइनमा बसेका सबैले ड्राइभरका लागि अन्तर्वाता दिन आएको बताएका थिए । होण्डाई कम्पनीमा लागि कामदार पठाउने भनेर विज्ञापन गरिएको थियो । तर, पूर्व स्वीकृति लिएको नपाइएको कटुवालले बताए । म्यानपावर कम्पनीका प्रमुख लालबहादुर थापाले भने आफूहरूले पूर्व स्वीकृति लिएरै अन्तर्वार्ता लिइरहेको दाबी गरेका थिए । तर, विभागले सोही अनुसारको कागजात देखाउन भन्दा पेस गर्न सकेनन् । अर्चिरोदन कम्पनी र अन्य कम्पनीकै ज्वाइन्भ भेन्चर कम्पनी भएको भन्दै उनले सोही आधारमा कामदार माग भएको र त्यही अनुसार अन्तर्वार्ता लिइरहेको बताएका थिए ।
