काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा सर्वसम्मत भए धेरै राम्रो हुने र त्यसका लागि कोसिस गरिरहेको बताएका छन् । आइतबार बारपाक सुलिकोट गाउँपालिकामा भएको ‘जनयुद्ध’का प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति सभालाई सम्बोधन गर्दै दाहालले सहमति नभए नयाँ राजनीतिक यात्रा स्थायित्व र विकासका निम्ति सहयोगी बन्ने बताए ।
‘हिजो मात्र राष्ट्रपतिको चुनावको सन्दर्भमा आउँदा आठ राजनीतिक दल एक ठाउँमा भयौँ, नेकपा एमालेसँग पनि लगातार कुरा भइरहेको, २५ गतेसम्म राष्ट्रपतिमा सर्वसम्मतको कोसिस रहन्छ,’ उनले भने,‘सर्वसम्मत भए सो मच द वेटर । धेरै राम्रो हुन्छ, त्यो कोसिस गरिरहेका छौँ, नभए नयाँ राजनीतिक यात्रा स्थायित्व र विकासका निम्ति अझै सहयोगी हुने विश्वास लिएको छु ।’
राष्ट्रपतिको चुनावको सन्दर्भमा आइपुग्दा आठ राजनीतिक दल एक ठाउँमा आएको बताए । ‘निर्वाचन लड्दै गर्दा जुन राजनीतिक दलसँग मिलेर जनताकाबीच भोट मागेका थियौँ, गर्दै जाँदा परिस्थिति नयाँ बन्यो, हिजो प्रधानमन्त्री भिन्न तवरले भएँ,’ उनले भने, ‘हिजो मात्र राष्ट्रपतिको चुनावको सन्दर्भमा आउँदा आठ राजनीतिक दल एक ठाउँमा भएका छौँ ।’