राप्रपा तत्काल प्रदेश १ को सरकारबाट नबाहिरिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राप्रपा तत्काल प्रदेश १ को सरकारबाट नबाहिरिने


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । प्रदेश १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट तत्काल नबाहिरिने भएको छ।

संघीय सरकार र प्रदेश सरकारबाट अलग भएर समर्थन फिर्ता लिने निर्णय पार्टीले गरेको थियो।  तर प्रदेश १ सरकारबाट तत्काल अलग नहुने राप्रपाका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए।

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको शनिवारको बैठकपछि राप्रपाबाट संघीय सरकारमा उपप्रधान तथा ऊर्जामन्त्री रहेका राजेन्द्र लिङ्देनसहित मन्त्रीहरूले राजीनामा दिइसकेका छन्।

प्रदेश १ सरकारबाट भने अहिले अलग हुने निर्णय नभएको र त्यसबारे केन्द्रले पनि निर्देशन नदिएको मन्त्री सिटौलाले जानकारी दिए। पार्टीको प्रदेश कमिटीको बैठकले सरकारमा रहने कि नरहने भन्नेबारे निर्णय  हुने उनले  बताए।

झापा क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित सिटौला प्रदेश १ का  मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा राप्रपाबाट मन्त्री छन्। प्रदेश १ प्रदेशसभामा एमालेका ३९ र राप्रपाका ६ सांसद छन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।

प्रदेशसभामा काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।

Tags :
प्रतिक्रिया दिनुहोस