राष्ट्रपतिमा पौडेल विजयी हुने सुनिश्चित भइसकेको छ : प्रकाश ज्वाला « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रपतिमा पौडेल विजयी हुने सुनिश्चित भइसकेको छ : प्रकाश ज्वाला


१३ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वालाले राष्ट्रपतिमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुने निश्चित भइसकेको दाबी गरेका छन् ।

प्रमुख सचेतक ज्वालाले आफ्नो पार्टीसहित ८ दलहरूको साझा उम्मेदवारको रूपमा पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिएकाले उनको जित सुनिश्चित भइसकेको तर्क समेत गरे । शनिबार अपराह्न राष्ट्रपतिमा रामचन्द्र पौडेलले उम्मेदवारी दिएपछि उनले संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलको जित सुनिश्चित भएको बताए ।

उनले राष्ट्रपतिको निर्वाचनसँगै आठ दल एकताबद्ध भएको उल्लेख गर्दै नेकपा एमाले भने एक्लिएको दाबी गरे । उनले आठ दलहरुबीचको एकता सत्ता साझेदारी हुँदै राष्ट्र निर्माणको अभियानसम्म जारी रहने बताए । प्रमुख सचेतक ज्वालाले ८ राजनीतिक दलहरुबीचको एकता र सङ्कल्पले मुलुकको राजनीतिकमा स्थिरता ल्याउने र समृद्धिको अभियानलाई तीव्रता दिन सकिने बताए । उनले भने, ‘आठ दलले नेपाली काँग्रेसका उम्मेदवारलाई सहयोग गर्ने, समर्थन गर्ने निष्कर्ष हामीले हिजो निकाल्यौँ । त्यसैअनुसार आज उम्मेदवारी दर्ता भएको छ । त्यो निर्वाचनमा नेपाली काँग्रेसको उम्मेदवारले जित्ने पनि निश्चित छ ।

ज्वालाले भने, ‘दोस्रो कुरा, भोलिका दिनमा पनि अब नयाँ ढङ्गले सरकारको निर्माणको कुरा होला । राष्ट्रलाई कसरी अघि बढाउने भन्ने कुरा होला । सत्ता साझेदारीका कुरा होला । यी तमाम कुराहरूमा छलफल गरेर, सरसल्लाह गरेर एकता गरेर अघि बढ्ने जुन सङ्कल्प गरिएको छ । त्यसैअनुसार हामी अगाडि बढ्छौँ । ओलीले जे भन्नु हुन्छ, त्यो उल्टो नै भन्नु हुन्छ । नभत्किएको भए त आजैको यो सिनारियोले देखाई पनि सक्यो । किनकि आज उहाँ एक्लै हुनुहुन्छ । उहाँको उम्मेदवारको पक्षमा अरु दलहरू कोही पनि छैनन् । र, आठ दल एकदम पूर्ण रूपमा एकताबद्ध भएर, सहमतिका साथ उम्मेदवारी दर्ता गर्ने र साझा उम्मेदवारको रूपमा उहाँलाई जिताउने गरी सङ्कल्पबद्ध भइसकेपछि पुरानो गठबन्धन कायमै छ भन्ने कुरा चाहिँ यो भन्ने कुरा मात्रै हो । नयाँ यात्रा तय गर्नका लागि यसलाई एउटा कोशेढुंगाको रूपमा लिन सकिन्छ । र, यहाँबाट सुरु भएको यात्रा अब सरकार निर्माण, राष्ट्र निर्माण, जनताको निम्ति काम गर्ने सवालमा पनि अगाडि बढ्छ । जति धेरै राजनीतिक दलहरू एकताबद्ध हुन्छन् । त्यति बेला राष्ट्र झन् एकताबद्ध हुन्छ । त्यसले चाहिँ राजनीतिक अस्थिरता होइन, स्थिरता ल्याउँछ ।’

प्रमुख सचेतक ज्वालाले राजनीतिक दलहरू जति धेरै एकताबद्ध भयो उति मुलुकमा राजनीतिक स्थिरता आउने भएकाले पनि आफूहरू नयाँ सिराबाट अघि बढ्न थालेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस