अछाम आगलागीका घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अछाम आगलागीका घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो


१३ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । आगलागीमा परेर गम्भीर अवस्थामा पुगेका अछामको पञ्चदेव विनायक नगरपालिका-८ कोसेडीका दुई युवालाई प्रधानमन्त्री कार्यालयको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ ।

यही फागुन ११ गते घरमा नै लागेको आगोमा परेपछि सोही ठाउँका २१ वर्षीय हिमराज रोकामगर र १९ वर्षीय पिरम रोकामगर गम्भीर घाइते भएका थिए । जिल्लामा उपचार सम्भव नभएपछि उनीहरूलाई सुर्खेत अस्पतालमा भर्ना गरिएको थियो ।

घाइतेमध्ये हिमराजको शरीरको ८० प्रतिशत भाग जलेको छ भने पिरमको ३६ प्रतिशत जलेको जनाइएको छ । सुर्खेत अस्पताललेसमेत उपचार गर्न नसक्ने र काठमाडौँको कीर्तिपुरस्थित वर्न अस्पतालमा लैजान सिफारिस गरेपछि पीडित परिवारले उद्धारका लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष अपिल गरेका थिए ।

प्रधानमन्त्री कार्यालयले घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै पीडितलाई तत्काल अस्पताल पुर्‍याउन निर्देशन दिएपछि गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत घाइतेलाई काठमाडौँ ल्याइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस