कांग्रेस नेता डा. भण्डारीको स्वास्थ्यमा सुधार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कांग्रेस नेता डा. भण्डारीको स्वास्थ्यमा सुधार


१३ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा १० दिन पहिले ग्यास चुहिएर विस्फोट हुँदा घाइते भएका डा. भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो ।

भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहेका नेता डा. भण्डारीको शरीरको तापक्रम, धड्कन गति, श्वासप्रश्वासको दर, रक्तचाप सबै सामान्य अवस्थामा रहेको भण्डारीका आफन्त मीनप्रसाद भण्डारीले जानकारी दिए । डा. भण्डारीको आज ड्रेसिङ गरिने भएको छ ।

शुक्रबारबाट ठोस खाना खान सुरु गरेका डा.भण्डारीले राम्रोसँग बोल्ने र खाना खाने गरेको मीनप्रसादले बताए । उनलाई अहिले भेटघाट बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

गत फागुन ३ गते राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन् । घटनालगत्तै दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते बिहान निधन भएको थियो भने सांसद भण्डारीलाई थप उपचारका लागि सोही दिन भारत लगिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस