ठिक ठाउँमा बस्न पूर्व राजालाई मन्त्री मोदीको चेतावनी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ठिक ठाउँमा बस्न पूर्व राजालाई मन्त्री मोदीको चेतावनी


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

एक-दुई हजार मान्छे जम्मा हुँदैमा पूर्व राजाले म नै राजा हुँ भन्ने सोचिरहेको भन्दै उनले त्यस्तो नसोच्न चेतावनी दिए । उनले देश पश्चगमनतर्फ नफर्कने बताए । मानव जातिका लागि गणतन्त्र सबैभन्दा सुन्दर व्यवस्था भएको उनको भनाइ छ ।

मन्त्री मोदीले पूर्वराजा शाहलाई आफूहरूले सम्मानपूर्वक नै ठिक ठाउँमा बस्न आग्रह गरेको स्पष्ट पारे । उनले आफूहरूले देशलाई ठिक दिशा दिइरहेको भन्दै स्थिति खलबल्याउन खोज्नेहरूलाई खबरदारी गर्नुपर्ने बताए ।

“अहिले के चर्चा छ भने, यसो एकरदुई हजार मान्छे जम्मा हुँदैमा पूर्वराजा फेरि पनि म हुँ भन्ने किसिमको सोचिराखेको छ । यो देशमा गणतन्त्र आइसकेको छ । देशमा गणतन्त्र आइसकेपछि जनताको छोरा राष्ट्रपति हुन पाउँछ । कैयौँ कुराहरू सामान्य रूपमा त्रुटि हुन्छ, सिक्दै जाने क्रममा । तर, देशको लोकतन्त्रको सबभन्दा सुन्दर पक्ष हो, गणतन्त्र । लोकतन्त्र आज समावेशी, धर्म निरपेक्षता, सङ्घीयता, संघीय लोकतान्त्रिक गणतन्त्र जो एउटा सुन्दर पक्ष आज आफ्नो अधिकारको कुरा हरेक मान्छेले राख्न पाउँछ । योभन्दा कुनै सुन्दर पक्ष मानव जातिको लागि हुनै सक्दैन । गणतन्त्र नेपालको लागि सबभन्दा सुन्दर पक्ष हो र संसारका लागि पक्ष हो । तसर्थ, पश्चगमनमा कोही जान सक्दैन र पश्चगमनतिर जाँदैन,” उनले भने, “राज्य पश्चगमनतिर जानै सक्दैन । र, जहिले पनि अग्रगमनतिर जान्छ । र, हामी अग्रगमनतिर नै अगाडि बढ्नुपर्छ । कहिलेकाहीँ क्रान्तिमाथि प्रतिक्रान्ति हुनसक्छ । तर, यो प्रतिक्रान्ति पनि होइन । पूर्वराजा ठिक ठाउँमा बस्नुपर्छ । हामीले उहाँलाई सम्मान दिएर नै भन्ने गरेका छौँ । यदि, आफ्नो ठिक ठाउँमा भएन भने गणतन्त्रका लागि हजारौँ हजार जनताले बलिदान दिनुभयो, लाखौँलाख जनताहरू सडकमा आउनुभयो, त्यो स्थिति अब फेरि पनि नहोस् । हाम्रो तर्फबाट यो देश सुशासनमा, ठिक तरिकाले हिँडिराखेको बेलामा, यो देशलाई हामीले ठिक तरिकाले दिशा दिइरहेको बेलामा कसैले यसलाई खलबल्याउँछ भने हामी हाम्रो तर्फबाट खबरदारी गर्नुपर्छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस