इम्बोस्ड नम्बर प्लेटलाई नेपाली भाषामा बदल्न निर्देशन  « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

इम्बोस्ड नम्बर प्लेटलाई नेपाली भाषामा बदल्न निर्देशन 


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । इम्बोस्ड नम्बर प्लेटलाई नेपाली भाषामा बदल्न फेरि छलफल सुरु भएको छ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सकेसम्म इम्बोस्ड प्लेटमा नेपाली भाषा कायम गर्ने प्रयास गर्न निर्देशन दिएका छन् । यसअघिका यातायात मन्त्रीहरूले पनि यस्तो प्रयास गरेका थिए । 

यातायात मन्त्री श्रेष्ठले भाषा बदल्न तयारी गरे पनि इम्बोस्ड जडानमा भइरहेको काम र कार्यान्वयनलाई भने नरोक्न भनेका छन् । मन्त्रालय स्रोतका अनुसार उपप्रधानमन्त्री श्रेष्ठले अहिलेको ठेक्का सम्झौतामा रकम नबढ्ने गरी इम्बोस्ड प्लेटमा सकेसम्म नेपाली भाषा कायम गर्नु पर्ने पक्षमा देखिएपछि यसबारे ठेकदार कम्पनीसँग पनि छलफल भएको छ ।

ठेकेदार कम्पनी टाइगर डेकाटुर आईटीले इम्बोस्ड नम्बर प्लेटलाई नेपाली भाषामा रूपान्तरण गर्न सकिने दोहोर्‍याएको छ । तर, इम्बोस्ड प्लेट नेपाली भाषामा लेख्न थप ६० लाख डलर अर्थात् करिब ७९ करोडभन्दा बढी खर्च लाग्ने बताइसकेको छ ।

सरकारले यसअघि प्रदेशको नाम मात्रै र पुरै प्लेट नै नेपाली भाषामा लेख्न सकिने/नसकिने र त्यसका लागि के–के गर्नुपर्छ भन्नेबारे ठेकदार कम्पनीलाई प्रश्नहरू पठाएको थियो । गुणस्तर सुधार्न र डिजाइन बदल्न सकिने/नसिकनेबारे पनि जवाफ मागेको थियो । त्यति बेला पनि कम्पनीले नेपाली भाषामा प्लेट बनाउन सकिने भएपनि ठेक्काको मूल्य बढाउनुपर्ने सर्त अघि सारेको थियो । फेरि यसबारे विभाग र ठेकेदार कम्पनी छलफलमा छन् ।

फागुनभित्र सबै सरकारी सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने लक्ष्यका साथ अहिले काम भइरहेको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताए । यसअनुसार फागुनपछि मात्रै कति प्रतिशत सरकारी गाडीले इम्बोस्ड प्लेट जोडे भन्ने थाहा हुने भन्दै पनेरुले अन्य सवारी हकमा कानुन बमोजिम नै हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस