ओलीले पार्टी एकताको प्रस्ताव राखे, मलाई विश्वास लागेन : माधव नेपाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ओलीले पार्टी एकताको प्रस्ताव राखे, मलाई विश्वास लागेन : माधव नेपाल


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बुधबार पार्टीको सचिवालय बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटबारे ‘ब्रिफिङ’ गरेका छन् । ओलीले आफूसँग चार घण्टा लामो भेटवार्ता गरेको र पार्टी एकता गरेर ठूलो पार्टी बनाउने प्रस्ताव राखेको उनले बताएका हुन् ।

एकीकृत समाजवादीका एक सचिवालय सदस्यका अनुसार ओलीले नेपाललाई पार्टी एकता गरेर सम्मानजनक स्थान लिन प्रस्ताव गरेका थिए । राष्ट्रपतिका विषयमा भने कुनै प्रस्ताव गरेका छैनन् ।

ती सदस्यका अनुसार अध्यक्ष नेपालले सो भेटवार्ताको मिति र स्थान भने बैठकमा खुलाएनन् । “राष्ट्रपतिको प्रस्ताव भएको छैन । अहिले पार्टी एकता गरौँ, ठूलो पार्टी बनाएर मिलाएर जाऔँ भन्नुभएको रहेछ,” ती नेताले भने, “तर, अध्यक्षज्यूले उहाँको एकता प्रस्तावप्रति आफ्नो विश्वास नरहेको बताउनुभएको छ ।”

ओलीको प्रस्ताव रणनीतिक हुने भएकाले मिठो कुरा गर्दैमा विश्वास गरिहाल्न सकिने अवस्था नरहेको उनको भनाइ थियो ।

स्रोतका अनुसार चार घण्टाको बसाइमा अधिकांश समय ओली नै बोलेका थिए । उनले हिजोका दिनमा कोबाट कस्तो गल्ती भयो भनेर पार्टी एकता हुन नसक्ने बताएका थिए । हिजोका दिन बिर्सिएर सौहार्द्रपूर्ण रूपमा पार्टी सञ्चालन गर्ने गरी एकताको प्रस्ताव गरेका थिए ।

नेता नेपालले भेटका क्रममा ओलीले राखेका पदसहितको प्रस्तावका बारेमा पनि बैठकमा खुलाएनन् । उनले ओलीसँग तत्काल सहकार्य सम्भव नहुने बताएका थिए । नेकपा (माओवादी केन्द्र) पनि ओलीसँगको सहकार्यबाट अलग हुन खोजेको उनको भनाइ थियो ।

ती नेताका अनुसार आजै अपराह्न ४ बजे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग नेता नेपालको भेट तय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस