राष्ट्रप्रमुखका रूपमा राजा ज्ञानेन्द्रलाई अघि सारौँ : रवीन्द्र मिश्र  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रप्रमुखका रूपमा राजा ज्ञानेन्द्रलाई अघि सारौँ : रवीन्द्र मिश्र 


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भावी राष्ट्रप्रमुखमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई अघि सार्नु उपयुक्त हुने सुझाव दिएका छन् । 

राष्ट्रपतिका लागि ‘होलीवाइन’ देखि ‘विदेशी एजेन्ट’ सम्मका नाम चर्चामा आइरहेको भन्दै उनले बरु ‘राजा’ लाई नै राष्ट्रप्रमुखको भूमिका दिन सकिने विकल्प सुझाएका हुन् ।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै मिश्रले राष्ट्रपतिलाई राजनीतिभन्दा माथिको पद भनिए पनि राष्ट्रपतिको भूमिका सदा पार्टीगत बनेको बताएका छन् । सेनाबाहेक देशका सबै संस्था क्षयीकृत भएको, धर्म संस्कृतिमाथि धावा बोलिएको र देश अन्तर्राष्ट्रिय भूराजनीतिको चपेटामा परेको उनको निष्कर्ष छ ।

मिश्रले लेखेका छन्, ‘यस्तो अवस्थामा कहिले ‘होली वाइन’, कहिले ‘विदेशीका एजण्ट’, कहिले ‘नातावादमा लिप्त’, कहिले ‘भ्रष्ट’ र ‘राष्ट्रघातमा अभ्यस्त’हरूको नाम राष्ट्रपतिको पदका लागि चर्चामा छ । राष्ट्रपतिको संस्था भनेको सङ्कटको घडीमा आड दिने ‘कुशन’ हुनु पर्ने हो। तर त्यो कुशासनको केन्द्रबिन्दु बनेको छ। देश नै निरन्तर कमजोर, बदनाम र संकटउन्मुख बन्दै गएको अवस्थामा राजा ज्ञानेन्द्रलाई ‘राष्ट्रप्रमुख’ का रूपमा किन अघि नसार्ने ?’

अरूले दशकौँसम्म दिनदिनै राष्ट्रघात गर्दा क्षम्य हुने तर अहिले पनि व्यापक स्वीकार्यता भएको र देशको दीर्घकालीन शान्ति, स्थिरता, सम्मान र सार्वभौमिकताका लागि राजा ज्ञानेन्द्रले एक पटक गरेको ‘गल्ती’ सुधार्ने मौका किन नपाउने भन्ने उनको प्रश्न छ ।

‘राजा ज्ञानेन्द्रले भने झैँ, “अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन’, मिश्रले लेखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस