काँग्रेस सधैँ मजदुरको पक्षमा उभिन्छ : प्रकाशशरण महत « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

काँग्रेस सधैँ मजदुरको पक्षमा उभिन्छ : प्रकाशशरण महत


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेस सधैँ मजदुरको पक्षमा उभिने बताएका छन् ।

नेपाल यातायात मजदुर सङ्घसँग आबद्ध रहेको नेपाल पर्यटन श्रमिक सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले मजदुर आन्दोलनबाट जन्मेको काँग्रेस सधैँ मजदुरको पक्षमा उभिने बताएका हुन् ।

‘काँग्रेसले सधैँ मजदुरको पक्षमा काम गर्छ, अरु दल मजदुरको पक्षमा बोल्छन् काम गर्दैनन्, काँग्रेस सधैँ मजदुरको पक्षमा छ, काम गर्छ’, उनले भने । प्रवक्ता डा. महतले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन क्षेत्रलाई अगाडि बढाउन यस क्षेत्रमा कार्यरत मजदुरको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

उनले कोरोनाका कारण धरासायी बनेको नेपालको पर्यटन क्षेत्रलाई पुनः उत्थान गर्न यस क्षेत्रका व्यवसायी र मजदुरबीच सहकार्यको खाँचो रहेको उल्लेख गरे । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले मजदुर क्षेत्रको समस्या समाधानका लागि काँग्रेसले काम गर्ने बताए । मजदुरको पक्षमा काँग्रेस सधैँ अगाडि बढ्ने उनको भनाइ थियो । नेपाली काँग्रेसको तर्फबाट बागमती प्रदेशका प्रमुख सचेतक काफ्लेले पर्यटन क्षेत्रलाई अगाडि बढाउन आवश्यक पर्ने ऐन, कानुन निर्माणका लागि प्रदेश सरकारसँग काँग्रेसले सहकार्य गर्ने विश्वास व्यक्त गरे । पर्यटन मजदुरको समस्या समाधान गर्न बागमती प्रदेशले भूमिका खेल्ने उनको भनाइ छ ।

नेपाल यातायात मजदुर सङ्घका पूर्व अध्यक्ष एवम् नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष अजय कुमार राईले अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने बताए । ‘नेपाल ट्रेड युनियन काँग्रेसले अगाडि सारेको अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सरकारले पहल थाल्नुपर्छ’, उनले भने ।

नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्मराज भण्डारीले पर्यटन क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन पार्टी र सरकारले भूमिका खेल्नुपर्ने बताए । विसं २०६६ मा स्थापना भएको नेपाल पर्यटन श्रमिक सङ्घमा हाल देशभर एक हजार ४०० पदयात्रा, आरोहण, जलयात्रा, ‘टुर’, जङ्गल सफारी गाइडलगायत आबद्ध रहेको सङ्घका अध्यक्ष कपिल पाण्डेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस