काँग्रेसले उठाएकै उम्मेदवार राष्ट्रपति हुन सक्छ : प्रधानमन्त्री « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

काँग्रेसले उठाएकै उम्मेदवार राष्ट्रपति हुन सक्छ : प्रधानमन्त्री


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सहमतिको प्रयास अन्तर्गत नेपाली काँग्रेसका नेताहरूसँग छलफल भइरहेको बताएका छन् ।

आज (सोमबार) बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग भेटपछि प्रधानमन्त्रीले अहिलेको सत्ता साझेदार दल बचाएर राष्ट्रिय सहमति गर्ने कोसिसमा लागेको बताएका हुन् ।

काँग्रेसले उठाएको राष्ट्रपति उम्मेदवार नभई राष्ट्रिय सहमति हुन गाह्रो देख्छु, यो कोलिसन जोगाएर पनि सहमति जुटाउन सकिन्छ कि भन्ने प्रयासमा छु’, प्रधानमन्त्रीको ब्रिफिङ उधृत गर्दै राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भने ।

अझै केही दिन बाँकी भएकोले निरन्तर छलफल गरेर निष्कर्षमा पुग्न सकिनेमा प्रधानमन्त्री विश्वस्त रहेको पनि गजुरेलले जनाएका छन् ।

‘हामीले उम्मेदवारको नाम दिएर काँग्रेसले मान्ला र सहमति होला जस्तो लाग्दैन,’ उनले थपे, ‘सहमति त काँग्रेसले उठाएकै नाममा हुन्छ होला । तर, यो गठबन्धन जोगाउने पहिलो प्रयास हो ।’ प्रधानमन्त्री प्रचण्डलाई आइतबार बेलुका बालुवाटार पुगेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र पूर्व महामन्त्री कृष्ण सिटौलाले भेट गर्दै राष्ट्रपति चुनावमा सघाउन औपचारिक प्रस्ताव गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस