एमालेद्वारा दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सुरु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

एमालेद्वारा दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सुरु


५ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेले ‘मिसन ग्रासरूट’ अभियान सुरु गरेको छ ।

पार्टी सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत एमालेले फागुन ५ गते शुक्रबारबाट २ महिनाका लागि ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको हो । 

अभियानको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्दै पार्टीलाई जगैदेखि बलियो बनाउने गरी सङ्गठन बनाउन अभियानमा खटिने सबै नेता कार्यकर्ताहरूलाई निर्देशन दिए । 

अभियानअन्तर्गत सातै प्रदेश हुँदै जिल्ला र  पालिकासम्म केन्द्रीय नेताहरू पुग्ने र त्यहाँको समस्याका साथै पार्टी सङ्गठनबारे कार्यक्रम गर्नेछन् । 

पार्टीका पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरूलाई अभियानको केन्द्रीय प्रतिनिधिका रूपमा पालिका तहमा दुई महिनाको जिम्मेवारी दिएर अभियान सञ्चालन गर्न पठाएको एमालेले केन्द्रीय उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरूको टिमले अभियानको अनुगमन र संयोजनका लागि खटाएको छ ।

अभियानको शुभारम्भ अभिमुखीकरणबाट गरिने भएकाले अनुगमन र संयोजनको जिम्मेवारीमा रहेका नेताहरू आ–आफ्नो जिम्मेवारी तोकिएका प्रदेशमा पुगिसकेका छन् । 

अभिमुखीकरणका लागि प्रदेश-१ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, मधेस प्रदेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, बाग्मती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, गण्डकी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, लुम्बिनी प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा, कर्णाली प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र  सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल तोकिएका छन् । 

त्यसैगरी, महासचिव शङ्कर पोखरेलको नेतृत्वमा अनुगमन र संयोजन हुने उपत्यकामा रहेका गैर भौगोलिक विशेष कमिटी (केन्द्रीय कार्यालय को अभिमुखीकरणमा उपमहासचिव प्रदीप ज्ञवालीले प्रशिक्षण दिने विशेष कमिटीको अनुगमन तथा संयोजनमा रहेका कार्यालय सचिव डा।भीष्म अधिकारीले बताए । 

केन्द्रीय कमिटीका सदस्यहरू हालको जिम्मेवारीभन्दा भिन्न जिल्लामा खटिएका छन् । 

त्यसैगरी प्रदेश कमिटी र जिल्ला कमिटीका सदस्यहरू र अन्य प्रतिनिधिलाई पनि स्वार्थ नबाझिने ठाउँमा जिम्मेवारी तोकिएको छ । 

पार्टीलाई वैचारिक र संगठनात्मकरूपमा सुदृढ गरी मुलुकमा राजनीतिक स्थायित्वको प्रत्याभूति गर्ने बलियो शक्तिका रूपमा स्थापित गर्न अभियान चलाउनुपरेको एमालेले जनाएको छ । 

एमालेको अभियान नेपाल कम्युनिस्ट पार्टी स्थापनाको दिन अर्थात् वैशाख ९ गते समापन गर्ने सो पार्टीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस