नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक आजबाट सुरु हुँदै « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक आजबाट सुरु हुँदै


५ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेपाल र भारतको ऊर्जा सचिवस्तरीय बैठक आज शुक्रबारदेखि भारतको राजस्थानमा सुरु हुँदैछ । पहिलो दिन सहसचिव स्तरको संयुक्त कार्यसमूहको बैठक बस्ने छ भने भोलि शनिबार १०औँ ऊर्जा सचिवस्तरीय बैठकमा ‘जोइन्ट स्टेयरिङ कमिटी’को बैठक बस्ने छ ।

बैठकमा नेपालको नेतृत्व ऊर्जा सचिव दिनेशकुमार घिमिरेले गर्दैछन् भने भारतका तर्फबाट भारतका ऊर्जा सचिव श्री आलोक कुमारले गर्नेछन् ।

बैठकमा नेपालले ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८०० मेगावाटसम्म विद्युत् आदानप्रदानको सहमति गर्न प्रस्ताव गर्नेछ । हाल ६०० मेगावाटसम्म मात्रै विद्युत् आयात निर्यात गर्ने गरी यो लाइन चलाइएको छ ।

नेपालले भारतसँग दीर्घकालीन विद्युत् खरिद सम्झौता गर्न पनि नेपालले प्रस्ताव गर्नेछ । बैठकमा बङ्गलादेशमा विद्युत् निर्यातको बाटो खुला गर्न पनि भारलाई अनुरोध गरिने ऊर्जा मन्त्रालयका एक अधिकारीले बताए ।

नेपाल र बङ्गलादेशले ५० मेगावाट विद्युत् बङ्गलादेश निर्यात थाल्ने सहमति गरेअनुसार आफ्ना दुई पक्षीय बैठकमा भारतलाई प्रसारणलाइन प्रयोगको अनुमति दिन आग्रह गर्दै आएका छन् ।

बैठकमा आगामी वर्षायाममा थप बिजुली भारत निर्यात गर्ने वातावरण तयार गर्न भारत सरकारसँग आग्रह गरिने ऊर्जा मन्त्रालयले जनाएको छ । हालसम्म भारतले ४५० मेगावाट मात्रै बिजुली निर्यातको अनुमति दिएको छ । थप ६ सय मेगावाट विद्युत् निर्यातको बाटो खोलिदिन आग्रह गर्ने नेपालको तयारी छ ।

बिहारसँग जोडिएका विभिन्न १३२ केभी प्रसारण लाइनबाट पनि विद्युत् निर्यातको बाटो खोलिदिन नेपालले प्रस्ताव गर्नेछ ।

टनकपुर-महेन्द्रनगर १३२ केभी प्रसारण लाइन स्तरोन्नति गर्ने विषय पनि बैठकमा उठ्ने छ । भैरहवा (मैनहिया)-न्यू नौतन्वा र कोहलपुर-नानपुरा १३२ केभी प्रसारण लाइन निर्माणका विषयमा पनि दुबै पक्षले छलफल गर्नेछन् ।

थप अन्तरदेशीय प्रसारण लाइनहरू बनाउने योजनामाथि पनि छलफल हुनेछ । बैठकमा नयाँ बनाउन प्रस्ताव गरिएका इनरुवा-पूर्णिया (न्यू) र दोदोधारा-बरेली अन्तरदेशीय प्रसारण लाइन निर्माणको प्रारूपबारे पनि छलफल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस