बङ्गलादेशलाई नेपालबाट बिजुली आयात गर्न दिन्छौँ : भारत « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बङ्गलादेशलाई नेपालबाट बिजुली आयात गर्न दिन्छौँ : भारत


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । भारतले बङ्गलादेशलाई नेपाल र भुटानबाट भारतीय भूमि हुँदै जलविद्युत आयात गर्न दिन सहयोग गर्ने आश्वासन दिएको छ । बुधबार ढाकामा भएको दुई देशको परराष्ट्र कार्यालय परामर्श (एफओसी) बैठकमा भारतले नेपाल र भुटानबाट बङ्गलादेशलाई जलविद्युत आयात गर्न सक्ने गरी करिडोर उपलब्ध गराउन सकिने बताएको हो ।

बुधबार भारतीय विदेश सचिव विनय क्वात्राको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलसँगको छलफलपछि बंगलादेशका परराष्ट्र सचिव मसुद बिन मोमेनले भारत आफ्नो प्रस्तावमा सहमत रहेको बताएका छन् ।

‘भारतीय विदेश सचिव विनय क्वात्राले नेपाल र भुटानबाट भारत हुँदै बंगलादेशसम्म बिजुली पुर्‍याउन सहयोग गर्ने आश्वासन दिनुभएको छ, आयोजनाबारे छलफल गर्न नेपालका ऊर्जामन्त्री पनि दिल्ली जाँदैछन्’, परराष्ट्र सचिव मोमेनले भनेका छन् ।

दुवैतर्फको प्रसारण लाइन निर्माण एकैसाथ अघि बढाउन सम्बन्धित मन्त्रालयलाई आग्रह गरिने परराष्ट्र सचिव मोमेनले जानकारी दिएको टीबीएस न्युजले जनाएको छ ।

बङ्गलादेशी पक्षले प्रसारण क्षमता र सञ्जाललाई सुदृढ गर्न दुवै देश मिलेर काम गर्न सक्ने प्रस्ताव गरेको छ ।

बैठकमा भारतले बङ्गलादेशलाई प्रसारण लाइनको क्षमता र नेटवर्क बढाउन आग्रह गरेको छ । प्रसारण लाइनको क्षमता कमजोर रहँदा धेरै लाभ लिन सक्ने अवस्था रहेको परराष्ट्र सचिवले मोमेनले बताए । प्रसारण क्षमता र नेटवर्कलाई सुदृढ गर्न भारत र बङ्गलादेश दुवैले मिलेर काम गर्न सक्ने पनि उनले बताए ।

बैठकमा भारत र बंगलादेशबीचको ऊर्जा पाइपलाइनको प्रगति, जसमार्फत बङ्गलादेशले भारतबाट डिजेल आयात गर्ने र भारतले बङ्गलादेश हुँदै एक उत्तरी प्रान्तबाट अर्को प्रान्तमा इन्धन पुर्‍याउने विषयमा पनि छलफल भएको फाइनान्सियल टाइम्सले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस