मोहन वैद्यसहित तीन पार्टीबीच एकता हुँदै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

मोहन वैद्यसहित तीन पार्टीबीच एकता हुँदै


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) र सन्तबहादुर नेपाली नेतृत्वको नेकपा (मशाल)गरी तीन पार्टीबीच छिट्टै एकता हुने भएको छ ।

फागुन महिनाभित्र एकता गर्ने गरी तीन पार्टीबीच छलफल भइरहेको वैद्य नेतृत्वको माओवादीका एक नेताले बताए । ‘हामीले छलफल टुङ्ग्याउनेतिर गएका छौँ । गृहकार्य गरेर सबै विषयमा छलफल भयो ।

माओवाद विचारधारा मान्ने कि नमान्ने, प्रदर्शक सिद्धान्त, कार्यदिशा, कार्यनीति, राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबारे मूल्याङ्कन भयो’ ती नेताले भने, ‘यस्तै सङ्गठनको स्वरूपका विषयमा समेत एउटा अन्डरस्ट्याडिङमा पुगिसकेका छौँ । त्यसलाई आधिकारिक रूप दिने संयोजन समितिको बैठक बस्दै छ।’

पार्टीको नाम भने तीन पार्टीको भाव समेटिने गरी चयन गरिने ती नेताले बताए ।

यस्तै नेकपा (क्रान्तिकारी माओवादी)का संवाद समितिका संयोजक सिपी गजुरेलले तीन पार्टीबीच पार्टी एकता छिट्टै हुने दाबी गरे । सबै विषयमा सहमति भए पनि एकता गर्न मिति घोषणा गर्न मात्रै बाँकी रहेको गजुरेलले बताए ।

‘नेपालको कम्युनिस्ट आन्दोलन टुटफुट र विभाजनबाट अघि बढ्दै गयो । अहिले आएर ध्रुवीकरणतिर जान थालेको छ’ गजुरेलले भने, ‘एकातिर दक्षिणपन्थी अवसरवादीहरू विभाजित भएकाहरू एकता र ध्रुवीकरणतिर जान थालेका छन् । अर्को राम्रो पक्ष क्रान्तिकारी कम्युनिस्टहरू एकता र ध्रुवीकरण गर्नतिर लागेका छौँ ।’

संसदवाद देश र जनताकाका निम्ति घातक छ भन्ने र वैज्ञानिक समाजवाद ल्याउनुपर्छ भन्नेहरू एकता गरेर ध्रुवीकरणमा जान थालेको गजुरेलले बताए । आफूहरू एकता गर्ने विषयमा धेरै नजिक भएकाले छिट्टै सुखद सन्देश सुन्न पाइने उनले बताए ।

सङ्गठनात्मक व्यवस्थापनका विषयमा समेत सहमति नजिक पुगेको र नेकपा माओवादीमा अन्य कुनै शब्द जोडेर नयाँ पार्टी गठन हुन सक्ने गजुरेलले बताए । तर, पार्टीको नाम के राख्ने भन्ने विषय प्राविधिक विषय भएकाले त्यसमा कुनै समस्या नहुने बताए ।

तत्कालीन नेकपा (एकीकृत माओवादी)बाट २०६९ सालमा अलग भई वैद्यले आफ्नो नेतृत्वमा नेकपा–माओवादी गठन गरेका थिए ।

वैद्यबाट समेत असन्तुष्ट जनाउँदै विप्लवसहित बास्तोलाले नेकपा गठन गरेका थिए । विप्लव नेतृत्वको नेकपामा विवाद भएपछि बास्तोलाले आफ्नो नेतृत्वमा नेकपा बहुमत गठन गरेका हुन् । बास्तोला विप्लवबाट अलग भएपछि वैद्यसँग पार्टी एकताको प्रक्रिया अघि बढाएका हुन् । यस्तै नेपाली नेतृत्वको मशाल मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट विभाजित भएको थियो ।

नेपाली महामन्त्री सिंहसँग असन्तुष्ट जनाउँदै आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि वैद्यसँग पार्टी एकताको प्रक्रिया अघि बढाएका हुन् ।

वैद्य, बास्तोला र नेपाली नेतृत्वको पार्टीबीच एकता गर्ने विषयमा छलफल हुन थालेपछि विप्लव नेतृत्वको नेकपा टाढिएको छ । पार्टी विभाजित नहुँदा विप्लव वैद्यसँग एकता गर्ने विषयमा सकारात्मक थिए ।

जब बास्तोलाले वैद्यसँग पार्टी एकताको प्रक्रिया अघि बढाए, तब विप्लव नेतृत्वको नेकपा एकता प्रक्रियाबाट टाढिएको हो ।

विप्लव सहित आहुति नेतृत्वको वैज्ञानिक समाजवादी र कर्णजीत बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) र ऋषि कट्टेल नेतृत्वको नेकपा एकातिर मोर्चाबन्दी गर्न थालेका छन् ।

प्रायः तत्कालीन माओवादीबाट विभाजित कम्युनिस्ट पार्टी नै विभाजित भएर धेरै पार्टी बनेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस